हलमा दयाहाङ भर्सेज् दयाहाङ : माओत्से र रामबाबु हाबी हुन सक्छन् सिमोस र किरणमाथि
काठमाडौँ : एउटा फिल्म रिलिजहुँदा त लगानी उठाउन नसक्ने बेलामा ‘हात्तिछाप’ र ‘दयारानी’ एकै दिन शुक्रवार रिलिज हुँदैछ। दुवै फिल्मका निर्माण टिम फिल्मको प्रचारको अन्तिम चरणमा छन्। दुवै फिल्म एकै दिन रिलिज हुन लागेको मात्रै हैन, यसको स्टार कास्ट दयाहाङ राई दुवै फिल्ममा छन्। विजय बराल पनि दुबै फिल्ममा छन्।
फिल्मको निर्माण समूह हेर्ने हो भने ‘हात्तिछाप’माथि ‘दयारानी’ हाबी देखिन्छ। रिलिजको दिन १ सय १३ शोज पाएको यो फिल्मको निर्देशक हुन् माओत्से गुरुङ। उनी निर्देशकभन्दा कलाकारका रूपमा बढी परिचित छन्। यसको कथा पनि माओत्सेकै हो।
शैलेन्द्रध्वज कार्कीको खिचेको फिल्ममा फिल्ममा दयाहाङसँगै दिया पुन, विजय बराल, प्रमिसा गुरुङ लगायतका परिचित कलाकार छन्। यी कलाकारहरू अभिनयबाट प्रशंसा पाइरहने सूचीमै पर्छन्।
अभिनयबाट परिचित भइसकेका माओत्से निर्देशनमा उत्रिएको फिल्म हो ‘दयारानी’। अभिनयको अनुभवले मात्र निर्देशनलाई अब्बल बनाउन गाह्रै हुन्छ नै। तर उनलाई निर्माताका रूपमा सफल र अनुभवी रामबाबु गुरुङले सघाएका छन्।
उनी निर्माता मात्रै हैनन्, सफल निर्देशक समेत हुन्। उनीसँग कबड्डीको सिक्वेलसँगै घामपानी, पुरानो डुङ्गा, फूलबारी जस्ता फिल्म निर्माण र निर्देशनको अनुभव छ। अपिल विष्ट समेत यसको कार्यकारी निर्माता हुन्।
फिल्म दयारानी पुरुषको कारण सन्तान नहुँदा आइपर्ने उतारचढाव र पुरुषवादी सोचमाथि प्रहारमा केन्द्रित देखिन्छ।
उता हात्तिछापमा दयाहाङसँगै सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकार छन्। यी पनि परिचितै कलाकार हुन्।
राजतन्त्र नभए पनि राजा भनेको राजा हो भन्ने थिममा बनेको फिल्मले रिलिजको दिन करिब एक सय ६४ सोहरु पाएको देखिन्छ।
यसको निर्देशक हुन् सिमोस सुनुवार। उनले ‘मिसन पैसा’, ‘फस्टलभको निर्देशन गरिसकेका छन्। यी फिल्महरूको हल्ला राम्रै भएको थियो तर अधिकांशको व्यापार कमजोर त केहीको मध्यम भएको थियो।
यसका निर्माता किरण नेपालीले दया र सौगातको क्रेजलाई क्यास गर्दै आएका छन्। तर यति र उति व्यापार गर्यो भनेर जति हल्ला गरे पनि व्यापारमा उनले निर्माण गरेको फिल्मको प्रभाव फिस्स देखिन्छ। दर्शक रिझाउन असफल। यसको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन्।
प्रचार सामग्रीमा हाबी दयाहाङ प्रत्यक्ष प्रचारमा छैनन्
दुवै फिल्मको प्रचारको रणनीति हेर्दा दहाहाङ नै केन्द्रमा देखिन्छन्। ट्रेलर अनि टिजर पनि दयाहाङ केन्द्रितै छ। तर भौतिक प्रचारमा दयाहाङले हात्तिछाप र दयारानी दुवैलाई पर्याप्त समय दिएका छैनन्।
हात्तिछापको पोस्टरमा दयाहाङसँगै उपासनालाई प्राथमिकता दिइएको छ। राजाको ह्याङमा रहेका पात्रको भूमिकामा रहेका सौगात प्रचारमा छुटेका छैनन्। तर उनले फिल्मको प्रमोसनमा आफूले अभिनय गरेको फिल्म आफैंले हेर्नै नसक्ने भन्दै प्रतिक्रिया दिएर फिल्मको प्रचार किरकिर बनाइसकेका छन्।
दयारानीको पोस्टरमा दयाहाङ अनि दियालाई प्रमुख प्राथमिकता दिइएको छ। फिल्मको कथा गुरुङ समुदायको पारिवारिक कथा देखिन्छ। दयाहाङको सफल फिल्मको पात्र, परिवेश अनि चरित्र चित्रणका आधारमा हात्तिछापभन्दा दयारानी नै बढि म्याच गरेको देखिन्छ।
अब दर्शकको रोजाई के हुन्छ? त्यो शुक्रबारबाट थाहा भइहाल्छ।
माघ २५, २०८० बिहीबार १५:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।