रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर कुखुरापालक किसानमाथि ठगी

रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर कुखुरापालक किसानमाथि ठगी

बुटवल : रुपन्देहीका कुखुरापालक किसानले व्यापारी र सप्लायर्सले आफूहरूलाई ठगेको आरोप लगाएका छन्।

कुखुरा खरिद गर्न आउने व्यापारी तथा सप्लायर्सले रिमोटबाट चल्ने डिजिटल तराजु प्रयोग गरेर ठगी गर्ने गरेको पीडित किसानहरूले बताएका छन्।

रुपन्देहीको ओमसतिया गाउँपालिका-५ पट्खौलीका किसान सुजित चौधरीले आफू ठगीमा परेपछि यो तथ्य सार्वजनिक गरेका हुन्। बुटवलको मदाने पोल्टी स्पालयर्सले डिजिटल तराजुबाट ठगी गरेको उनको आरोप छ।

चौधरीले सञ्चालन गरेको सम्राट पोल्ट्री फार्मबाट कुखुरा खरिदका लागि आएको मदाने पोल्टी सप्लायर्समन प्रतिनिधिले तीनवटा गाडीमा १२ क्विन्टलका दरले रिमोटबाट चल्ने डिजिटल तराजुबाट तौलिएका थिए। तर, तौलमा शंका लागेपछि चौधरीले पुनः जोख्दा साढे ३ क्विन्टल तौल कम भेटियो।

‘तौलमा शंका लागेपछि मैले पुनः तौलन भनेँ, तर उनीहरूले मानेका थिएनन्,’ चौधरीले भने, ‘मैले नै जबरस्ती गरेपछि तौलिँदा तौलमा फरक देखियो।’

चौधरीले तीन वटा गाडीमा एक क्विन्टल १५ किलोका दरले ३ क्विन्टल ४५ किलो कुखुरा ठगेको भेटिएको आरोप लगाए। तौलमा ठगिएको थाहा पाएपछि चौधरीले नै प्रहरीलाई खबर गरेका थिए। उजुरीपछि प्रहरीले तीन वटा गाडी ईलाका प्रहरी कार्यालय बुटवलमा ल्याएको छ।

त्यहाँ ल्याएर कुखुरा लोड अनलोड गर्दा २ क्विन्टल कुखुरा मरेको चौधरीले बताए। उनले ३ वटा गाडीमा गरेर करिब ७० हजार रुपैयाँ बराबरको कुखुरा व्यापारी र सप्लायर्सले ठग्न खोजेको बताए।

जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रवक्ता (डीएसपी) मनोहरप्रसाद भट्टले घटनाबारे अनुसन्धान भइरहेकाले दोषी नउम्कने बताए।

नेपाल बोइलर कुखुरा यवसायी संघ, रुपन्देहीका अध्यक्ष ऋषि काफ्लेले तौलमा किसान ठगिएको गुनासो वर्षौंदेखि आए पनि सुनुवाई नहुँदा किसान सधै मारमा परेको बताए।

‘व्यापारी र सप्लायर्सले ठगी गर्छन्, त्यतिमात्र हैन भारतीय सीमा हुँदै कुखुरा चोरी तस्करी हुन्छ,’ उनले भने, ‘यसो हुँदा कुखुरापालक किसान मर्कामा छन्। यसको नियन्त्रण गर्न सरोकारवाला लाग्नुपर्छ।’

किसानले प्रहरीलाई खबर गरेको थाहा पाएपछि सप्लायर्सले कुखुरा तौलन प्रयोग गरेको एउटा डिजिटल तराजु र रिमोट बुटवलतर्फ लगेर लुकाएको आरोप चौधरीको छ।

एउटा तराजु भने नियन्त्रणमा लिएर किसानले प्रहरीलाई बुझाएका छन्। किसानको उजुरीपछि प्रहरीले तराजुको वास्तविकता बुझ्न नापतौल कार्यालय पठाएको छ।

माघ २५, २०८० बिहीबार १३:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।