पत्रकार पुरुषोत्तम दाहालका हिजोका कुरा : कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री हुँदा गरेको त्यो अफर, जसलाई मैले स्वीकारिनँ
रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ सुन्नेका लागि पुरुषोत्तम दाहाल नौलो नाम होइन। कुनै समय च्यानल नेपालमा टक शो चलाएर दर्शकमाझ बेग्लै छाप छोडेका उनी यतिबेला हिमालय टाइम्सका प्रधान सम्पादक हुन्। ३१ वर्ष कलेज पढाएर अवकाश पाएका उनी उमेरले ६५ टेके। ओखलढुङ्गाको बिगु टक्सारमा जन्मिएका दाहाल ११ वर्षको उमेरमै काठमाडौं आए। काठमाडौंमै उनको अध्ययन भयो र यहिँ नै उनले जीवनको साढे पाँच दशक बिताए। काठमाडौंको बसाइ, पत्रकारिता र राजनीतिक सम्बन्धका विगत उनले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा सम्झिएका छन्। पञ्चायको विरोध गर्दाको समय र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गरेको अफरसम्मको कुरा उनले उकेरासँग खोलेका छन्।
म कोदाको खोले, ढिँडो, सिस्नो अनि खस्रु (हात पोल्ने घाँस)हुने ठाउँ ओखलढुङ्गाको बिगुटारमा जन्मिएर हुर्किएको मान्छे हुँ। त्यसबेला मान्छेहरूले त्यस ठाउँलाई बिगु टक्सार पनि भन्थेँ। अहिले सिद्धिचरण नगरपालिका अन्तर्गत पर्छ। यहाँ बिगो उठाउने ठाउँ भएकाले बिगुटार हुन पुगेको थियो। शुद्ध ढङ्गले भन्ने हो भने बेसीका मान्छेहरूले गोठ बस्ने ठाउँ हो, त्यो। हाम्रो पुर्खाहरू पनि बेसीबाट त्यहिँ ठाउँमा गोठ बस्ने भएकाले हामी घरजम गरेर बसेका थियौँ। यो ठाउँमा बस्ने म चौथो पुस्तामा पर्ने रैछु।
त्यो गाउँको अवस्था कस्तो थियो होला तपाई आफैँ परिकल्पना गर्नुहोस्। अन्यन्तै जुका लाग्ने, अझ लेकमा गयो भने खरि जुका लाग्थ्यो। खरि जुका सानो सर्प जत्रै हुन्थ्यो खाएर अघाइसकेपछि। एकदमै डर लाग्दो, खाएर नअघाउन्जेलसम्म छाड्दै नछाड्ने। मलाई पनि धेरै पटक यो जुकाले रगत चुसेर दुःख दिएको छ। म गाउँमा धेरै वर्ष नबसे पनि जति बसेँ ती सबै सम्झनामा छन्। ११ वर्षको उमेरका आफन्तको साथ लागेर पढ्नका लागि काठमाडौं आएँ।
पाँच दिनको पैदल यात्रापछि काठमाडौं
घरबाट हिँडेको पाँच दिनमा रामेछापको मन्थली हुँदै काठमाडौं आइपुगेका थियौं हामी। ११ वर्षको कलिलो केटो म, कहिल्यै घर नछोडेको, हिँडेको हिँड्यै काठमाडौं आइपुग्दा कस्तो भयो होला आफैँ कल्पना गर्नुस्।
ओखलढुङ्गा, भोजपुर र दिक्तेलतिर परम्परागत बाटो थियो, त्यहिँबाट ओहोरदोहोर गर्थे मान्छेहरू। हामी पनि त्यहि बाटो हुँदै काठमाडौं आयौँ। काकाको छोरा अर्थात् दाइ पर्नेसँग काठमाडौं आएको थिएँ म। उहाँ काठमाडौंमा पढ्दै हुनुहुन्थ्यो। बुवाले उहाँकै साथ लगाएर पठाउनुभो। यो २०२७ साल जेठ ३ गतेदेखि ७ गतेसम्मको कुरा हो।
त्यतिबेला खोलानालामा काठका पुल हालेका हुन्थे। तर सुनकोशीमा पुल थिएन। डुङ्गा चढेर नदी तर्नुपर्थ्यो। घरबाट काठमाडौं म खाली खुट्टा खाएको थिएँ। जेठको तातो दिनमा पैलाता एकदमै पोल्थ्यो। कतिपय ठाउँमा बालुवा कुल्चेर हिँड्नुपर्थ्यो, खासगरी मन्थलीघाटमा। त्यहाँ १०/१५ मिनेटसम्म नै बालुवामा हिँड्नुपर्थ्यो।
त्यसरी खाली खुट्टै हिँडेर आउँदा पैतालामा ठूला-ठूला फोका निस्केर जिल-जिल भाको थियो। घर जाँदा पनि हामी त्यसरी नै जाने गर्थ्यौँ। त्यसरी काठमाडौं आउँदा पटक-पटक आमासँग बसेको सम्झिएँ। मिल्ने भए घर फर्कम-फर्कम लागेको थियो। तर, निकै आइसकेपछि त्यो सम्भव पनि भएन।
घरबाट काठमाडौं म खाली खुट्टा हिँडेको थिएँ। जेठको दिन तातो दिनमा पैलाता एकदमै पोल्थ्यो। कतिपय ठाउँमा बालुवा कुल्चेर हिँड्नुपर्ने हुन्थ्यो। खास गरेर मन्थलीघाट तिरको बालुवा १०/१५ मिनेटसम्म नै हिँड्नुपर्थ्यो। त्यहि बाटो हुँदै काठमाडौं आउँदाको एउटा रिठ्ठेभीर भन्ने भयानक छ। त्यसको ओल्लो र पल्लो छेउमा टेकेर हिड्नुपर्ने, बालुको बाटो अनि रोशीको बाटो।
त्यसरी खाली खुट्टै हिँडेर आउँदा पैतालामा ठूला-ठूला फोका निस्केर जिल-जिल भाको थियो। घर जाँदा पनि हामी त्यसरी नै जाने गर्थ्यौँ। त्यसरी काठमाडौं आउँदा पटक-पटक आमासँग बसेको सम्झिएँ। मिल्ने भए घर फर्कम-फर्कम लागेको थियो। तर, निकै आइसकेपछि त्यो सम्भव पनि भएन।
त्यो बेलाको कुरा सम्झँदा अहिले आश्चर्य लाग्छ। अहिलेका ११ वर्षका कुनै पनि केटाकेटीलाई पाँच दिन हिड्न लगाए हिँड्न सक्छ? त्यो बेला हामी हिँडेरै काठमाडौं आइपुगेका थियौँ। अहिले म सम्झन्छु, त्यतिबेला हरेक मान्छेमा एकप्रकारको इनर्जी चाहिँ थियो है!
गाउँमा पढाउने गुरुको खडेरी
गाउँमा मैले सबैभन्दा पहिला भाषा पाठशाला पढेको हो। अहिलेको जस्तो स्कुल खुलेका थिएनन्। पाँच कक्षासम्मको भाषा पाठशाला हुन्थ्यो। दिउँसो स्कुलमा र साँझ बिहान गुरुसँग नै अध्ययन गरेँ मैले। त्यो भाषा पाठशाला सुरुवात गर्ने चाहिँ काठमाडौंमा संस्कृत पढेर पुगेका मान्छेहरू थिए। पण्डित पुन्यप्रसाद दाहाल लगायतका गुरुहरूबाट नै हामीले शिक्षदिक्षा पाएका थियौँ।
हामी छ दाजुभाइ र तीन दिदिबहिनी थियौँ। मभन्दा माथी दिदी हुनुहुन्छ। म भन्दा मुनि सात जना भाइबहिनी छन्। हामी धेरै परिवार भएर पनि होला खान पुग्नै छोड्यो। गाह्रो भयो। त्यस्तो अवस्थाबाट म काठमाडौं आएको हो। काठमाडौं आउँदा बुवाले मेरो हातमा सय रुपैयाँ राखिदिनुभएको थियो भने आमाले कताबाट जम्मा पारेको चालिस रुपैयाँ दिनुभयो। घरमा केही थिएन आमाले त्यो पैसा कहाँबाट राख्नुभएको थियो भनेर अहिले पनि सम्झन्छु म।
काठमाडौंमा सडक बालक जस्तै भएँ
काठमाडौं आएपछि मेरो दुःखका दिन प्रारम्भ भए। मेरो अवस्था भयानक थियो। अहिलेको भन्ने हो भने खाते भन्थेँ होलान्। हामी सडकमा सुत्थ्यौँ। रत्नपार्कको छतमुनि सुत्थ्यौँ। खान पुगेन भने होटलमा गिलास र भाँडा सफा गर्न जान्थ्यौँ।
त्यसरी जाँदा होटलवालाले एक छाक खान दिन्थे। सुत्दा त्यहि होटलमा काम गर्ने केटाहरूको बोरा ओडेर सुत्थ्यौँ। त्यो समय ओढ्ने ओच्छ्याउने खासै आइसकेको थिएन, त्यसमाथि काम गर्नेलाई दिँदा पनि दिँदैनथे। गिलास र भाँडा माझे पनि विहान र बेलुका भने स्कुल जान्थ्यौँ हामी।
त्यतिबेला रानीपोखरीको संस्कृत माध्यमिक विद्यालयमा पढेको हो मैले। यो कुरा आज भन्दा ५२ वर्षअघिको हो। सुरुवातको समयमा त्यस्तो कठिन अवस्था थियो। पछि त म छात्रवासमा बस्न थालियो, त्यसपछि भने समस्या भएन। मैले त्यसरी ४० सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेको हो।
वीपीका पुस्तकमाथि प्रतिबन्ध लाग्दा माओका छ्याप्छ्याप्ती
मैले थाहा पाउँदा पञ्चायती व्यवस्थाका कुरा हुन्थेँ। हामी उनीहरूको कुरा बुझ्दैनथ्यौँ। कसले के भन्थेँ, कसले के गर्थे। वीपी कोइरालालाई गाली गरेको गीत सुन्थ्यौं हामी। गाउँमा हामीलाई राजनीतिका बारेमा केहि पनि थाहा थिएन। यहाँ आएपछि यसबारेमा भएका आन्दोलन र विभिन्न घटनाहरूले राजनीतिप्रति चासो बढ्यो। काठमाडौं आएपछि मैले दुई वटा कुरा सिकेँ।
वीपी कोइरालाविरुद्धमा गीत गाउनेहरू प्राय पञ्च र कम्युनिष्टहरू थिए। त्यो बेलामा वीपीका किताबहरू पनि बेच्न र पढ्न प्रतिबन्ध थियो। उनको किताब कसैले पढ्दै गरेको या बोकेको भेटियो भने त्यो मान्छेलाई हतकडी लगाएर जेल लगिन्थ्यो। तर, भोटाहिटीमा माओत्सेतुङका किताबहरू प्रशस्त पाइन्थ्यो, त्यो पढ्न बन्देज थिएन।
निरन्जन वैद्य भन्ने एक व्यक्तिले लाइब्रेरी जस्तो बनाएर माओ लगायत अन्य विदेशीका पुस्तक बिक्री गरिरहेका हुन्थेँ तर यता नेपालकै विश्वेश्वर प्रसाद कोइरालाको किताबमा भने प्रतिबन्ध थियो। विदेशका जो कम्युनिष्टका बारेमा किताब लेख्थेँ उनीहरूको किताब बिक्री तथा पढ्नलाई पञ्चायतले छुट दिएको थियो तर, वीपीको थिएन। बिपीका मात्र होइन तरुण पत्रिकाहरू पनि प्रतिबन्ध नै थिए।
मैले तीन वर्षमा बुझेँ, तर बाबुराम भट्टराईलाई ४० वर्ष लाग्यो
भर्खर-भर्खर काठमाडौं आएर रत्नपार्कमा बस्न थालेपछि मलाई ठूलो भ्रम पर्यो। त्यो समय नेपालमा पञ्चायत विरोधी आन्दोलन भइरहेको थियो।
साम्यवाद आयो भने सब ठिक हुन्छ, गरिबको सहारा बन्छ भन्ने मलाई पनि लाग्यो। त्यो बेला माओको सिद्धान्त मान्नेहरू पनि दुई धार थिए नेपालमा। मलाई पनि उनीहरूको विचार पढ्दा र सुन्दा भयानक लाग्थ्यो। यसैले हाम्रो देशको काँचुली फेरिन्छ जस्तो लाग्यो अनि म झापालीहरूको संगत लागेँ।
उनीहरूले कहिल्यै आफ्नो वास्तविक नाम भन्दैनथेँ। एक वा दुई जनाले मात्र सही नाम भन्थे। त्यो बेला पनि कम्युनिष्टको सिद्धान्त र व्यवहार फरक-फरक थियो। जब मलाई त्यो ज्ञान भयो, त्यसपछि तीन वर्ष नपुग्दै म ‘माओवाद र साम्यवाद गरिबको मसिया हैन’ भन्ने निष्कर्षमा पुगेँ र आन्दोलन छोडेँ।
मैले तीन वर्ष माओको किताब पढेर यसको औचित्य छैन भन्ने बुझेर छाडेँ। तर, त्यसको औचित्य ठिक छैन भन्न डाक्टर बाबुराम भट्टराईलाई ४० वर्ष लाग्यो।
पटक-पटक थाना पुगेँ
मैले अघि पञ्चायतकै कुरा गर्दै थिएँ। ३१ सालतिरको कुरा हो। अञ्चलाधीश, मन्त्री र पञ्चायतका हिमायतीहरूको कसैले आलोचना गर्यो भने जेल जानुपर्थ्यो। त्यो बेला पञ्चायतीहरू आफूलाई सिस्टम हुँ भन्ने गर्थे। कसैले विरोध गर्यो भने कानुन उल्लंघन गरेको ठान्थे र सिधै जेल कोच्थे।
विद्यार्थीहरूले विभिन्न पाँच/छ वटा माग गरेका थिए। त्यो मागको सुनुवाइ नभएपछि हामीले रानीपोखरीमा बाटो छेकेर बसेका थियौँ। त्यो बेलामा अहिलेजस्तो बाक्लो गाडीहरू त गुड्दैनथेँ तर फाट्टफ्ट्ट भने थिए। हामी १० जना जति मिलेर बाटो ब्लक गर्यौँ। जताबाट गाडी आउँछ त्यहि बाटो फर्काइदियौं।
एक-दुई वटा गाडी आएर अटेर गरेपछि हामीले तोडफोड गर्यौं। त्यसपछि प्रहरी आएर भ्यानमा कोचिहाल्यो नि! थानामा लगेर भक्कु गाली गर्यो तर कुट्न चाहिँ कुटेन।
२०३५ सालमा नेपाल विद्यार्थी संघको सदस्यको नामले एउटा साथीको घरबाट समातिएँ। त्यो बेला चाहिँ अलिक लामो समयसम्म थानामा बस्नुपर्यो। यतिबेला म विद्यार्थी नेता थिएँ, पत्रकारिता थालिसकेको अवस्था थियो भने मानव अधिकारको आन्दोलनमा पनि जोडिएको थिएँ। जहाँ-जहाँ पाइन्छ पञ्चायतविरुद्ध बोल्दै हिँडियो। त्यसबापत २०४६ सालमा जेल परियो।
कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदाको त्यो अफर
नेपालमा बहुदल आइसकेपछि अर्थात २०४६ सालपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुनुभयो। म उहाँसँग नजिक थिएँ। म ‘राष्ट्रपुकार’ भन्ने पत्रिकामा काम गरिरहेको थिएँ। त्यो बेला ‘राष्ट्रपुकार’ पत्रिकाले कांग्रेसको मुखपत्र जस्तै थियो। कांग्रेसले केहि कुरा भन्नुपर्यो वा बुझ्नुपर्यो भने राष्ट्रपुकारबाट मात्र थाहा हुन्थ्यो।
यहि क्रममा मलाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मलाई एउटा अफर गर्नुभयो। उहाँले मलाई जिएम भएर कुनै संस्थामा गएर आफ्नो भविष्य बनाउन भन्नुभयो। उहाँले त्यो समयमा ‘तिमीले बडा दुःख पायौ, एउटा राम्रो संस्थानमा जिएम भएर जाउ, जहाँ भन्छौ त्यहिँ पठाइदिन्छु, सबैभन्दा बढी सुविधा भएको ठाउँमा जाउ’ भन्नुभयो।
जवाफमा मैले जिएम नचाहिएको तर रेडियो कार्यक्रम चलाउन इच्छा भएको बताएँ। रेडियोबाट निरन्तर पञ्चायतका मात्र कुरा सुनेका जनताहरूलाई बहुदलको पनि कुरा सुनाउने चाहना थियो मेरो। त्यसमा तत्कालीन प्रधानमन्त्रीले पनि स्वीकृति दिनुभयो। त्यसपछि मैले रेडियो नेपालमा ‘घटना र विचार’ भन्ने कार्यक्रम चलाएँ। जुन कार्यक्रम लोकप्रिय पनि बन्यो।
पछि मैले च्यानल नेपाल टेलिभिजनबाट ‘टक शो’ कार्यक्रम राखे। त्यो पनि लोकप्रिय बन्यो। अहिले जति पनि रेडियो र टेलिभिजनका कार्यक्रमहरु आइरहेका छन्, ती सबै मैले चलाएका जस्तै छन्।
माघ २५, २०८० बिहीबार १२:५४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।