चुनावको एक दिनअघि पाकिस्तानमा भएका दुई विस्फोटमा २८ जनाको मृत्यु

चुनावको एक दिनअघि पाकिस्तानमा भएका दुई विस्फोटमा २८ जनाको मृत्यु

एजेन्सी : पाकिस्तानमा आम निर्वाचन हुनुभन्दा एक दिनअघि अर्थात बुधबार भएको दुई बम विस्फोटमा २८ जनाको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तमा उम्मेदवारको कार्यालयबाहिर भएको दुईवटा बम विस्फोटमा दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ।

क्वेटा पिनिस जिल्लामा भएको पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएकोमा किला सैफुल्लाहमा भएको दोस्रो विस्फोटमा थप दश जनाको मृत्यु भएको हो।

प्रहरीले यी दुवै बम विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ। स्रोतसाधनले धनी बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र गरिब प्रान्त हो। 

पिसिनका स्वतन्त्र उम्मेदवारको कार्यालय बाहिर भएको बम विष्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। यस विस्फोटमा २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा विस्फोटका कारण नजिकै पार्क गरिएका कार र मोटरसाइकलहरू टुक्रा-टुक्रा भएको देख्न सकिन्छ। विस्फोट हुँदा चुनावी उम्मेदवारहरूले आफ्ना पोलिङ एजेन्टहरूलाई भेटिरहेका थिए।

दोस्रो विस्फोटको पूर्ण विवरण भने आउन सकेको छैन। विष्फोट किला सैफुल्लाहको मुख्य बजारमा भएको हो। विष्फोटको निशाना जेयुआई-एफ पार्टीको निर्वाचन कार्यालय थियो।

विष्फोटपछि बलुचिस्तान सरकारले योजनाअनुसार बिहीबारको मतदान नहुने बताएको छ।

‘हामी आतंकवादीहरूलाई यो महत्त्वपूर्ण लोकतान्त्रिक प्रक्रियालाई कमजोर वा नष्ट गर्न अनुमति दिने छैनौँ’, प्रान्तका सूचना मन्त्री जैन अखाजाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

पाकिस्तानमा करिब १२.८ करोड मतदाता छन्। यहाँ आज मतदान हुँदैछ। निर्वाचनको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पाकिस्तानको विदेश मन्त्रालयले इरान र अफगानिस्तानबीचको सीमा पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको छ।

माघ २५, २०८० बिहीबार ०७:००:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।