सात महिनामै ११ हजार बढी सामाजिक सञ्जालसम्बन्धी उजुरी, सबैभन्दा धेरै फेसबुक-म्यासेन्जरको दुरुपयोग

सात महिनामै ११ हजार बढी सामाजिक सञ्जालसम्बन्धी उजुरी, सबैभन्दा धेरै फेसबुक-म्यासेन्जरको दुरुपयोग

काठमाडौं : चालू आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा सामाजिक सञ्जालसम्बन्धी ११ हजार ४२५ वटा उजुरी परेका छन्।

साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा उजुरी परेकोमध्ये सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधसम्बन्धी एक हजार ९०५ वटा उजुरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना पक्राउ परेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने, सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएका छन्।

प्रहरीले साइबर अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको उनको भनाइ छ।

यसै अवधिमा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक, म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५०, टिकटकका ६६७, इन्स्ट्राग्रामका ४३२, ई-सेवाका १९०, इमेलका ८०, युट्युबका ३९, भाइबरका १६, इमो, ट्वीटर र वेबसाइट ह्याकिङका ६-६ तथा अन्यतर्फ ११८ वटा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल ह्याकका ४०३, उपहार तथा पैसा पठाएकोसम्बन्धी २६४, बैंक तथा वालेट अफिसबाट बोलेको वा एकाउन्ट ह्याकका १५२, क्रिप्टोसँग सम्बन्धित ९५, सामाजिक सञ्जाल फेक आईडी ६७, मास्टर कार्ड तथा मनी एक्सचेन्ज समेतका ६१, वैदेशिक रोजगारको प्रलोभनका ३८, भिडियो शेयरिङ र ब्ल्याकमेलिङ तथा अनलाइन जागिर तथा कोठा खोजी दिनेतर्फ ३५-३५, लट्री परेको प्रलोभन देखाइ ठगी गरेका ३३ र अन्यतर्फ २६२ वटा मुद्दा रहेका छन्।

आर्थिक वर्ष २०७९/०८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्यांक विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको पाइएको छ।

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितको तस्बिरमा अश्लीलता जोडी दुःख हैरानी दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याइ डाटा नष्ट गरी हानि-नोक्सानी पुर्याउने, पीडितको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण युट्युब च्यानलमार्फत प्रसारण गर्ने जस्ता साइबर अपराधमा संलग्न भएको प्रहरीको भनाइ छ।

अहिले साइबरसम्बन्धी अपराध अनुसन्धानको लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएको छ।

माघ २४, २०८० बुधबार २१:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।