नेपाल-क्यानडा सिरिज : नयाँ-पुराना खेलाडीसहित मैदानमा नेपाली टोली, राम्रो प्रदर्शनको अपेक्षामा प्रशिक्षक र कप्तान

नेपाल-क्यानडा सिरिज : नयाँ-पुराना खेलाडीसहित मैदानमा नेपाली टोली, राम्रो प्रदर्शनको अपेक्षामा प्रशिक्षक र कप्तान

काठमाडौं : नेपाल र क्यानडाबीचको एक दिवसीय क्रिकेट श्रृंखला भोलिदेखि सुरू हुँदैछ।

काठमाडौं हुने सिरिजमा नेपालले नयाँ खेलाडीसहित राम्रो नतिजाको अपेक्षा राखेको बुधबार पत्रकार सम्मेलनमार्फत् जनाइएको हो।

नेपालले क्यानडासँग तीन वटा एकदिवसीय खेलको श्रृंखला खेल्ने कार्यक्रम छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरू हुनेछ।

श्रृंखलाको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेलिने छ।

नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि क्यानडासँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको हो।

उक्त श्रृंखलाका लागि नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिसकेको छ। टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।

यू–१९ टिमबाट आएका दुई खेलाडी र प्रधानमन्त्री कपमा राम्रो गरेका खेलाडीसहित केही नयाँ अनुहारलाई लिएर टिम बनाइएको छ। जसमा यू–१९ टिमबाट देव खनालले सिनियर टिममा कमब्याक गरेका छन् भने आकाश चन्द र हेमन्त धामीले सिनियर टिममा मौका बनाएका छन्।

अनिल साह, पवन सर्राफ र सूर्य तामाङ टिममा फर्किएका छन्। त्यस्तै, रिजन ढकालले पहिलो पटक टिममा मौका बनाएका छन्।

कप्तान पौडेलले क्यानडा विरुद्धको एकदिवसीय श्रृंखलामा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्। उनले अधिकांश खेलाडी प्रधानमन्त्री कपमा व्यस्त रहेको र यू–१९ टोली भर्खरै विश्वकप खेलेर फर्किएकाले पनि विशेष प्रशिक्षणको अवसर नपाएको बताए।

त्यस्तै, नेपालका प्रशिक्षक मोन्टी देशाईले पनि नयाँ खेलाडीको साथमा मैदानमा उत्रिन निकै उत्साहित रहेको बताए।

उनले भने, ‘नयाँ खेलाडीहरू पनि छन्। उनीहरूले सिनियर टिममा आएर आफूलाई कसरी प्रस्तुत गर्छन् र आफ्नो भूमिका कसरी निभाउँछन्। यो निकै महत्वपूर्ण हुनेछ।’

माघ २४, २०८० बुधबार २०:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।