नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड बढी
काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमास सम्ममा खुद नाफामा १२ दशमलव ९० प्रतिशतको वृद्धि भएको छ।
चालू आवको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रूपैयाँ नाफा कमाएको थियो।
कम्पनीले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिसम्ममा कुल बीमा शुल्क आर्जन २० अर्ब रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३७ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले समीक्षा अवधिमा ३ अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६४ करोड रूपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थियो।
नवीकरण बीमा शुल्क १६ अर्ब ८३ करोड रहेको छ भने यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ३८ प्रतिशत बढी हो।
त्यस्तै, कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६ अर्ब ८२ करोड खुद दावी भुक्तानी गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा १८ अर्ब ६ करोड १० लाख बढीको लगानी गरेको बताइएको छ।
गत आर्थिक वर्षको अन्त्य सम्ममा झन्डै १ खर्ब ५० अर्ब ८६ करोड रूपैयाँ रहेको जीवन बीमा कोष यस वर्ष झन्डै १ खर्ब ८३ अर्ब ६५ करोड रूपैयाँ पुगेको कम्पनीले जनाएको छ।
कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ४ करोड रूपैयाँ सञ्चित छ। त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रहेको छ भने अन्य इक्विटी १७ करोड रूपैयाँ रहेको छ।
८ अर्ब २० करोड रूपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा प्रति सेयर आम्दानी १० दशमलव ४२ रूपैयाँ रहेको छ।
यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ १२८ दशमलव ०१ रूपैयाँ, मूल्य अनुपात आम्दानी ६२ दशमलव ८६ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ४०१ रूपैयाँ र औसत प्रतिफल दर १० दशमलव ०२ प्रतिशत रहेको छ ।
माघ २४, २०८० बुधबार २०:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।