अंग्रेजीको एमए अनि अधिवक्ताको प्रमाण पत्र दराजमा थन्काएर भृकुटीमण्डपमा खाजा पसल चलाइरहेका चाम्लिङ दाइको रहर'अब विद्यावारिधि गरेर नाम अगाडि डा लेख्छु'
काठमाडौँ : भृकुटीमण्डपभित्र लहरै छन् खाजा पसलहरू। सँगै छ चामलिङ्ग खाजा घर पनि। बिहानीपख आरआर, विश्वभाषा, नेपाल ल क्याम्पसका विद्यार्थीले भरिभराउ हुन्छ यो पसल। ग्राहकले’दाइ चिया’ भनेको केही समयमै हातमा स्टिलको प्लेटमा चिया भरिएको गिलास बोकेर आइपुग्छन् चाम्लिङ दाइ उर्फ मातृकाप्रसाद राई।
उनको शैक्षिक योग्यता हेर्ने हो भने अदालततिर बहस गरिरहेको भेटिनुपर्ने हो। वा अन्त कुनै कार्यालयको राम्रै ओहदामा। किनकि उनी उनी अंग्रेजीका स्नातकोत्तर उत्तीर्ण हुन्। अनि नेपाल बार काउन्सिलबाट मान्यताप्राप्त अधिवक्ता पनि।
तर उनी खाजा पसलमै भेटिन्छन्। त्यतै रमाइरहेका हुन्छन्। ग्राहकमाझ चामलिङ्ग दाइको रूपमा परिचित उनी विध्यार्थीहरुको रोजाइमा पर्नुको कारण स्वाद त भयो नै उनको पृष्ठभूमिले पनि उत्तिकै काम गरेको रहेछ।
OOO
खोटाङ जिल्लाको साबिक पौवा सेरा गाविस जसलाई १२ पोखरी गाउँपालिका वडा नम्बर ५ भनिन्छ त्यही जन्मिएका हुन् उनी। खोटाङकै पाँच कन्या निम्न माध्यमिक विद्यालयबाट कक्षा ८ सम्म अध्ययन गरेर उनी माध्यमिक तह अध्ययन गर्न उदयपुर झर्दै काठमाडौँसम्म आइपुगे।
ज्योति उच्च मावि वेलटारबाट एसएलसी उत्तीर्ण गरेपछि २०६० मा उच्च शिक्षा अध्ययन गर्न उनी काठमाडौँ हान्निए। उनी सफल पनि भए। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरे। अनि नेपाल ल क्याम्पसबाट स्नातक गरेर बार काउन्सिलको परीक्षा उत्तीर्ण गरेर अधिवक्ताको अनुमति पत्र समेत पाए।
एलएलबी उत्तीर्ण गरेसँगै बार काउन्सिलबाट वैध रूपमा कानुनी बहसको मान्यता पाएपछि केही समय कार्यालय नै खोलेर अभ्यास पनि गरे। तर त्यता उनको मन बसेन। पसलमै फर्किए। यतै रमाइरहेका छन्।
उनी अहिले एमफिलहुँदै विद्यावारिधि गर्न कस्सिएका छन्। पहिला पोलटिकल साइन्समा एमफिल गरेर त्यसैमा विद्यावारिधि गर्ने योजना सुनाउँदै उनले भने ‘अब विद्यावारिधि गरेर डाक्टर मातृका प्रसाद राई, लेख्ने धोको छ,’
OOO
उच्च शिक्षाका लागि काठमाडौँ आएका उनका लागि अध्ययन र जीवनयापन सहज थिएन। उनी २०६१ मा प्रर्दशनिमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए। सरकारी क्याम्पसको शुल्क महँगो त हैन तर दैनिकी पनि चलाउनुपरिहाल्यो। घरबाट सबै भरथेग हुने अवस्था थिएन।
काठमाडौँको बसाई अनि पढाई खर्च जोहो गर्न पहिला उनले ज्यामीबाट काम सुरु गरे। ज्यामीको काम गरेर कमाएको पैसाले दुई वर्षको खर्च धानियो। आइए उत्तीर्ण भएँ। त्यसपछि भने उनलाई दिक्क लाग्न थाल्यो।
क्याम्पस पढ्न आउँदा भृकुटीमण्डपभित्र खाजा पसलहरू देखेका उनलाई यतै पसल राख्न पाए त खर्च पनि धानिने अनि पढाइ पनि सजिलो हुने भन्ने लाग्यो। तर पैसा थिएन। साथीभाइसँग केही रकम सापट लिएर उनी खाली सटर खोज्न थाले।
अलि भित्रपट्टि सटर फेला पर्दा उनी खुसी हुन्छन्। केही कमाई पनि हुने अनि बास पनि त्यतैहुँदा नजिकैको क्याम्पस पनि जान पाइने भएकाले उनी सटर लिएर खाजा पसल सुरु गर्छन्। तर अलि भित्रै भएकाले सोचेजस्तो ग्राहक आउँदैनन् उनकोमा। सात लाख जति लगानी गरेका थिए उनले। त्यो डुब्यो।
न घर फर्कनु न पसलै गर्नु! बढो दोधारमा परे उनी। जति आउँछ त्यतिमै पसल बेचेर अलि पायक पर्ने ठाउँतिर नजर डुलाउँछन्। अलि अगाडि नै खाली सटर देख्छन्। उनी यति बेलासम्म त्यता परिचित भइसकेकाले सटर सहजै पाउँछन्।
डुबेको लगानी उठाउन उनीसँग अर्को विकल्प थिएन। केही त होला भनेर फेरि पसल सुरु गरे। क्याम्पसका परिचित साथीहरू उनकोमा खाजा खान आउँदाआउँदै अन्य ग्राहकहरू पनि बढ्न थाले। धन्न त्यो पसल भने चल्यो। अहिलेसम्म त्यहीँ छ उनको पसल।
उनको आइएको परीक्षा पनि आयो। उनी उत्तीर्ण भए। अङ्ग्रेजी र पत्रकारिता लिएर स्नातक तहमा भर्ना भए। स्नातक तह सहजै पार गर्न सकेनन् उनले। तेस्रो वर्षको मिडिया हिस्ट्री एन्ड ल विषयमा ४ पटकसम्म ब्याक लाग्यो। धन्न पाँचौँ पटकमा उत्तीर्ण भए।
‘बिहान ६ देखी बेलुकी ८ बजेसम्मै पसलमै हुन्छु। काम सक्दा राती १० बजेको हुन्थ्यो,’ उनले भने'त्योक्रम आजसम्म पनि जारी छ। त्योबेला म एक्लै थिएँ, अहिले श्रीमती छिन्। फरक यति हो।'
स्नातक उत्तीर्ण गरेपछि पनि उनमा पढ्ने जाँगर मरेन। विवाहपछि छोरी जन्मिइन्। स्नातकोत्तरतहको अध्ययनसँगै उनको नजर गयो आरआर क्याम्पससँगै टाँसिएको नेपाल ल क्याम्पसमा। अनि उनी एलएलबीमा भर्ना भए।
एलएलबी उत्तीर्ण भएपछि उनलाई ब्यवसायीक रूपमा बहस गर्ने जोस चल्यो। उनले नेपाल बार काउन्सिलको परीक्षा दिए अनि पास पनि भए। लाइसेन्स पाएपछि काठमाडौँ जिल्ला अदालतदेखि अलि पर बानेश्वरतिर कोठा लिएर २ जना साथीसँग मिलेर ल फर्म पनि चलाए।
बहसमा उनको मन बसेन। उनी बहसमा रमाउनै सकेनन्। भृकुटीमण्डपको पसल श्रीमतीले चलाइरहेकी थिइन्। उनी ल फर्म साथीहरूलाई जिम्मा लगाएर खाजा पसलमै फर्किए।
नेपाल बार काउन्सिलको अधिवक्ता लाइसेन्स परीक्षा उत्तीर्ण चाम्लिङ चिया पसलमै फर्किएपछि अधिवक्ताको लाइसेन्स चैँ खाजा पसलको भित्तामा खाजा पसलमा आउने ग्राहकले देख्नेगरि राखेका थिए।
नेपाल ल क्याम्पस नजिकै भएकाले उनको पसलमा नेपाल बारका पदाधिकारी अनि वरिष्ठ अधिवक्ताहरू पनि चिया पिउन आउँथे। पसल दर्ताकै प्रमाण-पत्रको लहरमा अधिवक्ताको अनुमति पत्र समेत राखेको देखेपछि उनीहरूले'प्रमाण पत्रको सम्मान नगरेको’ भन्दै अन्यत्र राख्न करकर गरेपछि भने अहिले दराजमा राखेका छन्।
उच्च शिक्षा अध्ययन गर्दैमा खाजा पसल चलाउनै नहुने भन्ने नरहेको अनि आफूले ज्ञानको दायरा बढाउन औपचारिक अध्ययन गरेको बताए। जे-जे विषयमा अध्ययन गरे पनि खाजा पसलै सहज लागेको उनले बताए।
‘जुन काम गर्दा मन रमाउँछ त्यही गर्ने त हो। ल फर्ममा काम गर्दा मन रमाएन। खाजा पसलमै फर्किएँ। अब यही काम गर्ने हो’ उनले भने'आत्मसन्तुष्टि भन्दा ठुलो कुरा अरू केही रहेनछ। मलाई यही पेसाले सन्तुष्टि दिएको छ। पिएचडी गरे पनि म जीवनभर यही पेसा मै लाग्छु।'
माघ २४, २०८० बुधबार १७:५०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।