सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ : प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, पारित गरेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ। सो विधेयक पारित गरियोस् भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

हिउँदे अधिवेशन सुरू भएको तेस्रो दिन प्रतिनिधिसभाबाट पहिलो विधेयक पारित भएको हो।

बुधबार प्रतिनिधिसभाबाट पारित भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी यो विधेयकमाथि १८ सांसदले धारणा राखेका थिए।

उनीहरूले उठाएको प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्रोत नखुलेको तर कसुर पनि नठहरिएको जो-कसैको सम्पत्ति अन्तराष्ट्रिय ‘स्ट्याण्डर’का प्रावधानबाट व्यवस्थापन गर्ने गरी विधेयक ल्याइएको बताएका छन्।

उनले भने, ‘कालो धनलाई सेतो बनाउने विधेयक ल्याइएको सांसदहरूको टिप्पणीमाथि जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘कुनै मान्छेको सम्पति स्रोत पनि नखुलेको तर कसुर पनि ठहरिएन भने ६० देखि ८० प्रतिशतसम्म करको दायरामा ल्याउने अन्तर्राष्ट्रिय प्रचलन छ। छिमेकी मुलुकमा हामी देखिरहेकै कुरा हो यो। यही प्रावधान राखेर यो विधेयक ल्याइएको हो। कसैलाई छुट दिन वा कालोलाई सेतो बनाउन होइन।’

सरकारले जारी अधिवेशनमा ६३ वटा विषयमा कानुन निर्माण तथा संशोधन गर्ने उद्देश्य राखेको छ।

प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

माघ २४, २०८० बुधबार १७:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।