सौगातलाई रमाइलो लागेन आफ्नै ‘हात्तीछाप’, युट्युबरको बुम छल्दै बाहिरिए सेलिब्रेटी

सौगातलाई रमाइलो लागेन आफ्नै ‘हात्तीछाप’, युट्युबरको बुम छल्दै बाहिरिए सेलिब्रेटी

काठमाडौं : मंगलबार ‘हात्तीछाप’को प्रिमियरमा पुगेका अभिनेता सौगात मल्ले आफैँले अभियन गरेको फिल्म रमाइलो नलागेको बताए। प्रिमियर हेरिसकेपछि सौगातले सञ्चारकर्मी तथा युट्युबरहरूसँग कुरा गर्दै आफूले अभियन गरेको फिल्म रमाइलो नलाग्ने प्रतिक्रिया दिए।

‘सबैसँग बसेर आफ्नो फिल्म हेर्दा कस्तो लाग्यो?’ भन्ने प्रश्नमा मल्लले भने, ‘आफ्नो फिल्मको विषयमा म केहि भन्नै सक्दिनँ। खासमा आफ्नो फिल्म कहिल्यै रमाइलो लाग्दैन। सबैलाई थाहा छ नि आफ्नो विषयमा केहि भन्नै सक्दिनँ।’

कमै बोल्ने स्वभावका मल्ल प्राय मौन नै रहे। उता फिल्म हेर्न आएका अधिकांश सेलिब्रेटीले फिल्मबारे प्रतिक्रिया दिनै मानेनन्। उनीहरू युट्युबरको बुम छलेर बाहिरिए।

फिल्मको बारेमा निर्देशक ज्ञानेन्द्र देउजा तथा कलाकारहरू सुलेमान शंकर, शोभित बस्नेत लगायतका केहीले मात्र प्रतिक्रिया दिए। कलाकार विपिन कार्की, निर्माता निर्मल शर्मा, निर्देशक दीवाकर भट्टराई, अभिनेता तथा निर्माता राज कट्वाल, निर्माता रोहित रुम्बा युट्युबरहरूले बुम राखेको स्थान छलेर बाहिरिए।​​​​​​​

प्रिमियरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, विल्सनविक्रम राई र विजय बराल भने उपस्थित थिएनन्।

फिल्मका मुख्य कलाकार सौगातलाई नै नरमाइलो लागेको फिल्म दर्शकले भने कति रुचाउने हुन् त्यो शुक्रबार नै थाहा होला। तर प्रिमियरमा फिल्मबारे प्रतिक्रिया दिने सेलिब्रेटीको खडेरी लागेजस्तो हलमा दर्शकको खडेरी नहोस्, शुभकामना।

माघ २४, २०८० बुधबार १३:१९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।