‘एउटा ल्यापटप ५० हजार डलर! खान पनि कति सकेको?’

‘एउटा ल्यापटप ५० हजार डलर! खान पनि कति सकेको?’

काठमाडौं : एमाले सांसद पदम गिरीले टेरामक्म खरिद प्रकरणमा बहालवाला मन्त्री र सांसद बयान दिन नगएपछि कटाक्ष गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले टेरामक्स प्रकरणमा अख्तियारले बयान लिन बोलाए पनि मन्त्री र सांसदहरू बयान दिन नगएकोमा आश्चर्य व्यक्त गरेका हुन्।

उनले भने, ‘टेरामक्सको कुरा, एउटा ल्यापटपलाई ५० हजार डलरमा किन्ने। खान पनि कत्रो मुख हो, राख्ने पनि कति ठूलो पेट हो, अनुमानै गर्न सकिन्न।’

उनले अगाडि थपे, ‘तिनै मान्छेहरू अहिले पनि बहाल मन्त्री छन्, माननीयज्यूहरु हुनुहुन्छ। अख्तियारले बयान दिन बोलाउँदा म जान्न भन्नुहुन्छ। अनि देशमा सुशासन कायम हुन्छ? अख्तियारलाई  सहयोग गर्ने दायित्व हाम्रो हो कि हैन?’

देशमा भ्रष्टाचार व्याप्त बनाउने, कुशासन मच्चाउने र व्यवस्थाप्रति नै निराशा फैलाउने काममा सरकार लागेको भन्दै सुध्रनसमेत उनले आग्रह गरे। त्यसो नभएमा एमालेले पाइ–पाइ हिसाब लिने बताए।

माघ २४, २०८० बुधबार १२:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।