ट्राफिक कारबाहीबाट छ महिनामा प्रहरीले उठायो ८० करोड राजश्व
काठमाडौं : देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजश्व उठाएको छ।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा देशभरबाट ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको हो। छ महिनामा प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने १० लाख ५२ हजार ५५ वटा सवारी साधनलाई कारबाही गरेको छ।
त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा ७ करोड ८७ लाख, मधेश प्रदेशमा १० करोड ५ लाख, बागमती प्रदेशमा ७ करोड ८८ लाख, गण्डकी प्रदेशमा ८ करोड १८ लाख, लुम्बिनी प्रदेशमा ९ करोड ३८ लाख, कर्णाली प्रदेशमा १ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशमा २ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
संकलन भएको राजस्वमध्ये ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख, बस/मिनिबसबाट ९ करोड २० लाख, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख, ट्याक्टरबाट २ करोड ८८ लाख, मोटरसाइकलबाट ३१ करोड १७ लाख र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख रूपैयाँ राजश्व गरिएको हो।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमता भन्दा बढी राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका लगायतका कारवाही गरेबापत यतिका रकम संकलन गरेको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले प्रहरीले जरिवाना गरेर राजस्वमात्रै संकलन गर्नेभन्दा पनि नागरिकको जिउधनको रक्षामा जोड दिएको दाबी गर्छन्।
‘प्रहरीले जरिवाना मात्र गर्दैन। सकभर कारवाही गर्न नपरोस् भन्ने नै चाहन्छ। तर नियम मिचेर जोखिममा रहेको देखेपछि दुर्घटनाबाट बचाउनु प्रहरीको दायित्व हो,’ उनले भने।
प्रहरीले ट्राफिक नियम कार्यान्वयनका लागि सचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गरिरहेको बताए।
माघ २४, २०८० बुधबार ०९:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।