एसीसी महिला प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा, एसिया कपमा स्थान बनाउने मौका
काठमाडौं : मलेसियामा हुने एसीसी महिला प्रिमियर कपका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १४ सदस्यीय टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक मनोज कटवालले १० देखि १८ फेब्रुअरीसम्म हुने प्रतियोगिताका लागि दोस्रो चरणबाट ४ खेलाडी बाहिर राख्दै अन्तिम टोली सार्वजनिक गरेका हुन्।
टोलीमा तीव्र गतिकी बलर कविता कुँवरले चोटबाट पुनरागमन गर्दा डली भट्ट, कविता जोशी र अप्सरी बेगम पनि राष्ट्रिय टोलीमा फर्किएका छन्।
कविता एपेन्डिक्सको शल्यक्रिया गर्दा पछिल्लो समय बाहिर थिइन्। डली स्वदेश फर्केपछि प्रशिक्षणमा पर्दा कविता र अप्सरी यसअघि छनोटबाहिर रहेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा रहेका लक्ष्मी साउद, यशोदा विष्ट, खुसी डंगोल र सबनम राईलाई बाहिर राखेको हो।
टोलीको सहायक प्रशिक्षकमा जानकी भट्ट, व्यवस्थापकमा अम्विका बुढाथोकी र फिजियोमा कमला श्रेष्ठ छन्।
प्रतियोगितामा मलेसिया, नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन्।
नेपाल समूह ‘डी’मा छ। नेपाल भएको समूहमा हङकङ, भुटान र माल्दिभ्स छन्। चार समूहमा रहेका समूह विजेता र उपविजेताले क्वार्टरफाइनलका खेलहरू १४ फेब्रुअरीमा खेल्नेछन्।
फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन्। उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन्।
महिला टोलीले पोखरामा अहिले अभ्यास गरिरहेको छ।
१४ सदस्यीय टोली:
इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, डली भट्ट, अश्मिना कर्माचार्य, रोमा थापा, पुजा महतो
माघ २४, २०८० बुधबार ०७:२२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।