उपासनाको जाडो बाख्राले खान्छ कि क्या हो !

उपासनाको जाडो बाख्राले खान्छ कि क्या हो !
तस्बिर : मेरो फिल्म।

काठमाडौँ : न अन स्क्रिन, न अफ स्क्रिन, बेनिशा हमाल र उपासना सिंह ठकुरीबीच त्यति घनिष्ठ मित्रता देखिएको छैन। यी दुवै नायिकाहरू आ-आफ्नै सङ्घर्षमा छन् अभिनय हेरेर दर्शकबाट ‘वाउ’ शब्द सुन्न।

तर विडम्बना, अहिलेसम्म उनीहरूको यो इच्छा पूरा हुन सकेको छैन। फिल्म ‘हात्तीछाप’मा यी दुवै अनस्क्रिन देखिँदैछन्। बेनिशा सरप्राइज भूमिकामा अनि उपासना नियमित।

फिल्मले मंगलबार आयोजना गरेको प्रिमियर शोमा यी दुवै सहभागी थिए। जब पत्रकार कम युट्युबर ज्यादा भएको भीडबाट बुम तेर्सियो यी दुवैले एकले अर्कालाई ‘वाउ’ भन्दै प्रशंसा गर्न थाले। दुवैले एक अर्कालाई पहिलो पटक पर्दामै देखेका रहेछन्।

दुवैको दाबी अनुसार दुवैलाई एकले अर्काको फिल्म हेर्दा वाउ लागेको थियो रे। खैर होला पनि। अब प्रिमियरमै केन्द्रित हुने हो भने चैँ उपासना सिंह ठकुरी वाउ देखिएकी थिइन् है बेनिशा भन्दा।

हल्का चिसै मौसम भए पनि उपासनाको चिसो बाख्राले खाने रहेछ। उनी अलि खुल्लमखुल्लै पोसाकमा थिइन्। कस्तो लगाउने त्यो उनको व्यक्तिगत छनोटको कुरा भयो। तर, बाउन्डिङ मिलेको छ भनिरहँदा यसो पोशाकको पनि बाउन्डिङ मिलेको भए झन् गजब हुने थियो नि त!

बेनिशा र उनको पोशाकको बाउन्डिङ त मिलेन ल, उता सौगात मल्लसँग पनि मिलेन नि! उपासना कतैबाट हावा नछेकिने पोशाकमा आउँदा सौगात टिसर्टमाथि ज्याकेटमा थिए। बेनिशा पनि शरीरमा कतैबाट छिसिक्क हावा छिर्न नदिने गरी आएकी थिइन्।

फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा अभिनेता सौगात मल्लले आफ्नै पाराको जवाफ दिए। पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई मेरो फिल्म हेर्न गाह्रो हुन्छ। केही भन्नै सक्दिन।’

अब प्रिमियमका आएका अन्य कलाकारहरूको त के कुरा गर्नु, पोस्टरको पैसा उठाउन नसक्ने फिल्म पनि ‘सुपरडुपर हिट हुन्छ’ भनेर धर्म निभाउन खप्पिस छन् उनीहरू।

फिल्मबारे खुबै हल्ला गरिरहेका छन् फिल्म निर्माण टिमले। दाबी गरेजस्तै फिल्म बने त राम्रै हो, नेपाली झुर फिल्मले बिच्किएका दर्शक हल फर्किने थिए, हल सञ्चालक, फिल्म निर्माता अनि कलाकारको भलो नै हुन्थ्यो। तर फिल्म झुर रैछ भने चैँ ‘हात्तीछाप, दिक्क भएर दर्शक हलबाट टाप’  हुने जोखिम हुन्छ नि!

त्यसमा पनि ‘हात्तीछाप’मै अभिनय गरेका दयाहाङ राईकै अभिनय रहेको ‘दयारानी’ पनि छँदैछ दर्शक तान्न।

माघ २४, २०८० बुधबार ००:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।