गठबन्धनलाई मिनेन्द्र रिजालको प्रश्न : जय नेपाल भनेको लाल सलाम हो?

गठबन्धनलाई मिनेन्द्र रिजालको प्रश्न : जय नेपाल भनेको लाल सलाम हो?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन्।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने भन्दै गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक अरू सत्य नदेखेको आरोप लगाएका हुन्।

‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयमा राजधानीमा मंगलबार आयोजित गोष्ठीमा नेता रिजालले एकअर्काको अभिवादनको अर्काको होइन आफ्नै हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए।

‘मलाइ गठबन्धनको बारेमा झगडा त गर्नु छैन। जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त। त्यो भन्दा खराब के होला?,’ उनले भने, ‘ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो, मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो।’

उनले गठबन्धन सरकार बन्ने संस्कृति अन्त्य गर्न मिश्रित निर्वाचन प्रणाली नै फेर्नुपर्ने जिकिर गरे।

‘अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौँ। पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्यै गर्छौँ बाँकी काम गर्नुपरेन। किनभने हिजो पनि भोट घट्दा सरकारमा पुग्ने बाटो थियो भने आज यता किन हेर्नुपर्यो,’ उनले भने।

उनले जनमतले मात्रै अहिलेको अवस्थामा एकल बहुमत ल्याएर कुनै पनि राजनीतिक दलले सरकार चलाउन सक्ने अवस्थामा नभएको दृष्टान्त उल्लेख गर्दै कांग्रेसले एक्लै चुनाव नलड्ने बताए।

‘अहिलेको अवस्थामा न एमालेले न हामीले एक्लै बहुमत ल्याउन सक्छौँ, न एक्लै हामी चुनाव लड्छौँ। एक्लै चुनाव लड्नुको परिणाम अघिल्लो पटक २३ सिट देखिसकेका छौँ। तर, निर्वाचन प्रणालीलाई नबदल्ने हो भने हामी सरकार चलाउँदैनौ। जनताको मतबाट सरकार परिवर्तन नहुने ठाउँमा हामी पुगेका छौँ। ६–७ प्रतिशत जनता एउटा पार्टीबाट अर्कोमा गयो भने सिंहदरबारमा शासन गर्ने मान्छे परिवर्तन नहुने हो भने शासन ठिक बाटोमा हिँड्दैन,’ नेता रिजालले भने।

माघ २३, २०८० मंगलबार २१:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।