राज्य व्यवस्था समितिले पारित गर्यो अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक

राज्य व्यवस्था समितिले पारित गर्यो अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। ​

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरी खतिवडाले समितिले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको बताए।

सभापति खतिवडाका अनुसार समिति सभापति खतिवडाले चालू हिउँदे अधिवेशनमा पहिलो पटक राज्य व्यवस्था तथा सुशासन समितिले समितिबाट विधेयक पारित गरेर संसदमा प्रस्तुत गरिएको हो।

उनले विधेयक संसदबाट पारित भइसकेपछि ढिला-सुस्ती गर्ने, आयोजना प्रमुख, ठेकेदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीलाई अनुगमन गर्न सहज हुने बताए। उनले समितिले पारित विधेयक बुधबारपछि बस्ने संसदको बैठकमा पेस गर्ने जानकारी पनि दिए।

उनले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पनि अन्तिम चरणमा पुगेको तथा ‘अध्यक्ष र बहुमत सदस्य कि अध्यक्ष बाहेकको बहुमत सदस्य’ भन्ने कुरा मिलाउन शीर्ष नेतालाई जिम्मेवारी दिएको बताए।

शीर्ष नेताहरूले नटुंग्याए प्रक्रियागत रुपमा निर्णयमा पुग्ने बताए।

‘हामीले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेका छौँ‚’ उनले भने, ‘विधेयक पारित भइसकेपछि काममा ढिला-सुस्ती गर्ने, आयोजना प्रमुख, ठेकेदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्री जो हुन् सम्पूर्णलाई अनुगमन गरेर ठिक ठाउँमा ल्याउने र बदमासी गर्ने र भ्रष्टाचारजन्य अपराध सरहको कानून लगाएर ठिक ठाउँमा ल्याउने विधेयक पास गरेका छौँ। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पनि अन्तिम चरणमा पुगेको छ।’

माघ २३, २०८० मंगलबार १७:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।