गठबन्धनमा ‘कोशी’ले निम्त्याएको असमझदारीपछि भाँडिँदै पूर्वसहमति, राष्ट्रियसभा अध्यक्षमा माओवादीले पनि दाबी गर्ने

गठबन्धनमा ‘कोशी’ले निम्त्याएको असमझदारीपछि भाँडिँदै पूर्वसहमति, राष्ट्रियसभा अध्यक्षमा माओवादीले पनि दाबी गर्ने

काठमाडौं : गत माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट माओवादी केन्द्रकी उमेदवार चम्पादेवी कार्की पराजित भएपछि सत्ता गठबन्धनभित्रकै दलहरूबीचमा विश्वासको वातावरण छैन। फलतः यो अविश्वास सतहमै देखिन थालेको छ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकपश्चात् राष्ट्रियसभाको अध्यक्ष पदमा आफूहरूले पनि दाबी गर्ने बताएको छ।

माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाको सबैभन्दा ठूलो दल भएकाले अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

तथापि राष्ट्रियसभा निर्वाचनअघि नै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति शीर्ष तहमा बनिसकेको थियो। सोही अनुसार कांग्रेसले दुई पटक लगातार प्रतिनिधिसभा निर्वाचन हारेका सिटौलालाई कोशीको अन्य तर्फको टिकट दियो र उनले बाजी पनि मारे।

तर, कोशी प्रदेशमै कांग्रेसका सिटौला विजयी हुँदा गठबन्धनभित्रकै सांसदले 'फ्लोर क्रस' गरेपछि माओवादीकी कार्की पराजित हुँदा यस अघिको सहमति इन्कार गर्ने अवस्थामा माओवादी पुगेको हो।

यही माघ ११ गते भएको निर्वाचनबाट ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ। कांग्रेसले नेता सिटौलालाई अध्यक्ष बनाउने तयारी गरेको छ।

माओवादीले दाबी नछाड्ने परिस्थितिमा गठबन्धनमा खटपट बढ्ने देखिएको छ।

आजको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिपक्षी दलको प्रतिवाद गर्न सांसदहरुमा निर्देशन दिएका छन्।

माघ २३, २०८० मंगलबार १६:१५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।