२९ औं सँस्करणको ‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि

२९ औं सँस्करणको ‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि

काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको आयोजनामा आगामी माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९ औं सँस्करणको ‘क्यान इन्फोटेक २०२४’ हुने भएको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको हो।

२९ औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा रहेको छ।

त्यस्तै, क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन्।

सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पीएनवइ रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

त्यस्तै, फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन्।

प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबल नेट लगायतका संस्थाले सहयोग गरेका छन् भने अन्तर्राष्ट्रिय रूपमा असोसियो, विस्टा र टीओए सफ्टवेयर कर्पको सहयोग रहेको छ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए।

‘प्रदर्शनीमा राखिने नवीनतम् प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौँ,’ पोदारले भने।

त्यस्तै, महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको बताए।

यस पाली माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ।

 सर्वसाधारणका लागि १०० रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ शुल्क तोकिएको छ। जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ। 

विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष प्रदान गर्दै आएको २ करोडको छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ।

त्यस्तै, नेपाल रोबोटिक्स एकेडमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा सँस्करण सार्वजनिक हुने कार्यक्रम छ।

यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिने छ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिनेछ। 

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। 

माघ २३, २०८० मंगलबार १५:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।