हातमा चार फिल्म हुँदा पनि ‘बेरोजगार’ साम्राज्ञी
काठमाडौं : पछिल्लो दुई वर्षमा साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘नाङ्गो गाउँ’, ‘ह्यारी की प्यारी’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आए। तीन फिल्ममध्ये उनको लागि फिल्म ‘नाङ्गो गाउँ’ केहि हदसम्म सफल भए पनि बाँकी दुई फिल्मले पानीसमेत भन्न पाएनन्।
कमेडियन जितु नेपालसँग जोडी बाँधिएको फिल्म ‘ह्यारी की प्यारी’ राम्रै होला भन्ने अपेक्षा गरेकी साम्राज्ञीले। तर, त्यसो हुन सकेन। उनको लागि पछिल्लो दुई वर्ष फिल्म क्षेत्रमा सुखद् रहेन। दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ केही हदसम्म सफल हुँदा त्यसमा उनको प्रभाव देखिएन।
फिल्मका मुख्य भुमिकामा देखिएका अभिनेता दयाहाङ राई र मिरुना मगरको चर्चा भएर अन्तरवार्ताका लागि खोजिँदा उनी युट्युबरहरूको पनि पहिलो रोजाइमा परिनन्। हुन त मुख्य भूमिकामा काम गर्दै आएकी साम्राज्ञीलाई सहायक भूमिकामा देखिँदा असहज लागेर पनि मिडियामा खासै नदेखिएकी हुनसक्छिन्।
भदौमा ‘नाङ्गो गाउँ’ रिलिज भएपछि उनको चर्चा खासै छैन। हातमा केही फिल्महरू भए पनि सुटिङ भएका छैनन्। मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘बर एण्ड बधु’मा अनुबन्ध भएको तीन वर्ष भए पनि फिल्म छायांकन अहिलेसम्म भएको छैन। निर्देशक चाम्सका अनुसार फागुन अन्तिम साताबाट फिल्म फ्लोरमा जानेछ। तर, अझै पक्का भने छैन।
तीन वर्षअघि नै उनी प्रवेश पौडेलको निर्देशनमा बन्ने भनिएको ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएकी थिइन्। जुन फिल्ममा साम्राज्ञीका अलवा आना शर्मा र मनिष राउतको अभिनय रहने भनिएको थियो। त्यहि बेलामा बन्छ भनेको फिल्म अहिलेसम्म बन्न सकेको छैन।
यति मात्र होइन, उनी ‘योलो’ फिल्ममा समेत अनुबन्ध भइसकेकी छन्। यो फिल्ममा अनुबन्ध भएको समाचार बाहिरिए पनि निर्माण कहिले हुन्छ भन्ने अहिलेसम्म अत्तोपत्तो छैन। विवेक सुवेदीले निर्देशन गर्ने भनिएको यस फिल्ममा साम्राज्ञी मात्र होइन, अभिनेत्री उपासना सिंह ठकुरीसमेत फाइनल भएकी थिइन्।
साम्राज्ञी अहिलेसम्म आफूले साइन गरेका फिल्मको काम सकेपछि मात्र बाँकी फिल्म साइन गर्ने सोचमा थिइन्। तर, साइन गरेका फिल्महरू फ्लोरमा नगएर लामो समय खाली बस्नुपरेपछि उनी सोमबार फिल्म ‘रुमानी’मा अनुबन्धित भइन्।
तीन फिल्ममा अनुबन्ध भएर पनि फ्लोरमा नगएपछि उनी अर्को फिल्म साइन गर्न तयार भएकी हुन्। तर यो फिल्म पनि कहिले बन्ने भन्ने ठेगान छैन। यद्यपि निर्माण टिमले भने अस्ट्रेलियामा छिट्टै छायांकन गरिने दाबी गरेको छ।
फिल्म क्षेत्रबाट नै ओझेलमा परेको समाचार र गसिपले हैरानी खेपेकी साम्राज्ञी कहिलेबाट काममा खटिन्छिन् त्यो भने उनी अनुबन्धित निर्माता तथा निर्देशकमा भर पर्छ। हातमा चार वटा फिल्म भएर पनि सुटिङमा नजाँदा उनी अहिले बेरोजगार जस्तै भएकी छन्।
अनिल योञ्जनले निर्देशन गर्ने यो फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशील थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रूपमा छन्।
माघ २३, २०८० मंगलबार १३:४३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।