पाकिस्तानको आम निर्वाचनमा अमेरिकी चासो, भन्यो- ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन होस्’

पाकिस्तानको आम निर्वाचनमा अमेरिकी चासो, भन्यो- ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन होस्’

एजेन्सी : पाकिस्तानमा फेब्रुअरी ७ तारिखमा हुने आम निर्वाचन अमेरिकासहित विश्वका शक्ति राष्ट्रले चासो राखेका छन्। अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आम निर्वाचनलाई नकिजबाट नियालिरहेको जनाएको छ।

‘पाकिस्तानमा हुने आम निर्वाचनलाई नजिकबाट अनुगमन गरिरहेका छौँ,’ सोमबार अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ, ‘अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लंघनप्रति हाम्रो चिन्ता छ।’

अमेरिकाले पाकिस्तानी जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर भावी नेता छान्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाकिस्तानको चुनावी प्रक्रियालाई नजिकबाट नियालिरहेका छौँ। हामी यसमा धेरै भन्दा धेरै मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं र अभिव्यक्ति स्वतन्त्रता र विधायिका अधिकारको सम्मान हुनुपर्छ भन्ने चाहान्छौँ।’

उनले अमेरिकाले चुनावका बेला हिंसाका घटनाहरू नचाहेको र मिडिया स्वतन्त्रतामा प्रतिबन्ध नलगाउन समेत आग्रह गरेको बताए।

‘हामी मिडिया स्वतन्त्रतामा प्रतिबन्ध र इन्टरनेट स्वतन्त्रतामा प्रतिबन्धको विरुद्धमा छौं,’ पटेलले भने, ‘पाकिस्तानका जनतालाई आफ्नोे मौलिक अधिकार प्रयोग गरेर आफ्नो भावी नेता चुन्ने अधिकार छ र यसका लागि निर्वाचन स्वतन्त्र, निष्पक्ष र कुनै डरविना हुनुपर्छ।’

पाकिस्तान हाल विश्वमा पाँचौं धेरै जनसंख्या भएको देश हो। यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ। पाकिस्तानको चुनावमा २६६ सिटका लागि ५ हजार १२१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

माघ २३, २०८० मंगलबार ११:३०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।