कांग्रेस नेता केशव बुढाथोकी निधन

कांग्रेस नेता केशव बुढाथोकी निधन

झापा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ।

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रमम निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए।

‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभूति हुनेछ। उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ’, महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए। पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए।

लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए।

बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन्।

माघ २३, २०८० मंगलबार ०८:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।