अरुणलाई जमानीमा छुटाउन असफल भए शम्भु थापा, अदालतले थप्यो दुई दिन

अरुणलाई जमानीमा छुटाउन असफल भए शम्भु थापा, अदालतले थप्यो दुई दिन

काठमाडौँ :  बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई छुटाउन शम्भु थापा लगायतका वकिलहरूले जिल्ला अदालत काठमाडौँमा दिनभर बहस गरे पनि अन्तमा अदालतले दुई* दिन थप म्याद दिएको छ।

अदालतले सोमबार चौधरी समूहका सदस्य अरुणसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई अनुसन्धानका लागि थप दुई* दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

माघ १८ मा पक्राउ परेका अरुणसहित तीन जनालाई अदालतले पहिलो पटक ४ चार दिन हिरासतमा राख्ने म्याद दिएको थियो। योबिचमा प्रहरीले तीनै जनाको बयान सक्काए पनि अनुसन्धान बाँकी रहेको भन्दै थप म्याद मागेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका म्याद मागे पनि वरिष्ठ अधिवक्ता शम्भु थापासहितले बहस गर्दै अरुण कतै नभाग्ने भएकाले हिरासतको म्याद थप्न आवश्यक नभएको तर्क गरेका थिए। तर अदालतले सरकारी पक्षकै माग स्वीकार गर्दै तीन दिन म्याद थप्यो।

प्रहरी हिरासतमा राख्न म्याद पाए पनि चौधरी र थापा पक्राउ परेको दिनदेखि नै स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा छन्। ठाकुर भने प्रहरी हिरासतमै छन्।

* यस अगाडि तीन दिन म्याद थप लेखिएकोमा म्याद दुई दिन थपिएको जानकारीमा आएकाले सच्याइएको छ।

माघ २२, २०८० सोमबार १८:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।