अरुण चौधरीको पक्षमा बहस गर्दै शम्भु थापाले आफ्नो जिम्मा छाड्न गरे माग

अरुण चौधरीको पक्षमा बहस गर्दै शम्भु थापाले आफ्नो जिम्मा छाड्न गरे माग

काठमाडौँ : बाँसबारीको १० रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनाको दोस्रो पटक म्याद थप्न प्रहरीले अदालतमा बुझाउँदा म्याद थप्ने कि नथप्ने भन्नेबारे दिनभर बहस भयो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि पहिलो पटक पाएको चार दिने म्याद सकिएपछि सोमबार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरेकोमा चौधरीसहितको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितले बहस गर्दै म्याद थप्न आवश्यक नभएको तर्क गर्दै हाजिर जमानीमा छाड्न माग गरेका थिए।

अदालतले प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिए पनि चौधरीसहित दुईजना स्वास्थ्य कारण देखाउँदै अस्पतालमा छन्। एक जना मात्र प्रहरीको हिरासतमा छन्। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले चौधरीलाई रिहा गर्दा प्रमाण नष्ट हुने सम्भावना नरहेको र भाग्ने सम्भावना पनि नरहेको भन्दै चौधरीको जिम्मा लिन आफू तयार रहेको तर्क गरेका थिए।

सरकारीपक्षले भने प्राप्त प्रमाणको आधारमा अनुसन्धान भइरहेकाले अनुसन्धानका लागि हिरासतमा राख्न माग गरेको थियो।

माघ २२, २०८० सोमबार १८:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।