टेलिकमको नेतृत्वलाई सञ्चारमन्त्रीको निर्देशन 'नमस्ते पे मोबाइल वालेटको व्यापार बढाउन गृहकार्य गर्नु’

टेलिकमको नेतृत्वलाई सञ्चारमन्त्रीको निर्देशन 'नमस्ते पे मोबाइल वालेटको व्यापार बढाउन गृहकार्य गर्नु’

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको कमजोरी सुधार गर्दै सेवाको गुणस्तर बढाउन निर्देशन दिएकी छिन्।  नेपाल टेलिकमको २० औँ वार्षिकोत्सव समारोहमा सोमबार सम्बोधन गर्दै उनले टेलिकमले सञ्चालनमा ल्याएको ‘नमस्ते-पे मोबाइल वालेटको व्यापारमा थप गृहकार्य गर्न निर्देशन दिइन्।

‘हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्धिका कार्य योजनाहरूको प्रगतिको स्मरण र मूल्याङ्कन गर्ने बेला हो। हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ’ उनले भनिन्।

सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर बिस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको उनले बताएकी थिइन्।

लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर बिक्री खरिद प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको उनले दाबी गरेकी थिइन्।

‘यो वर्षमात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यक र राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएका छौँ’ उनले भनिन्'अब जतिसक्दो चाँडो हामी डिजिटलाइजेसनमा जानुपर्छ। यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त हो।'

कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन्।

एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न काम भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लापिच्छे नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमुना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथ काम अगाडि बढाइएको उनले बताइन्।

कम्पनीले भूकम्प प्रभावित क्षेत्रकालागि विभिन्न सहुलियत प्रदान गरेको बताउँदै प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आइसिटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरूमा एफटीटीएच डाटा तथा नमस्ते बाइफाई उपलब्ध गराइने जानकारी दिएकी थिइन्।

माघ २२, २०८० सोमबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।