सहकारी ठगीमा रविसहित १८ विरुद्ध ‘पूरक जाहेरी’ प्रहरीले स्वीकार गर्‍यो

सहकारी ठगीमा रविसहित १८ विरुद्ध ‘पूरक जाहेरी’ प्रहरीले स्वीकार गर्‍यो

कास्की : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुनसहित १८ जनाको नाममा कास्की प्रहरीले पूरक जाहेरी लिएको छ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितहरूले दिएको जाहेरी सोमबार प्रहरीले स्वीकार गरेको हो। पूरक जाहेरीमा लामिछाने र पुनसँगै सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजनको नाम समेत थपिएको छ।

सुदर्शन सहकारी पीडित समूहका संयोजक किरण श्रेष्ठले लामिछानेसहित १८ जनाको नाम थप गरेर दिएको जाहेरी प्रहरीले स्वीकार गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको उकेरालाई बताए।

‘हामीले कसैसँग पूर्वाग्रह नराखी सहकारीको रकम अपचलनमा संलग्न जो-जो देखिएका छन् उहाँहरूको भूमिकाबारे समेत अनुसन्धान होस् भनेर जाहेरी दिएका हौँ,’ श्रेष्ठले उकेरासँग भने 'पहिला भएको अनुसन्धान निकै फितलो देखिएपछि हामीले पहिलादेखि नै पूरक अनुसन्धान गर्न माग राख्दै आएका थियौँ। उहाँहरूले हाम्रो पूरक जाहेरी स्वीकार गर्नुभयो। अब विस्तृत अनुसन्धान हुने आस लागेको छ।'

सहकारी ठगीमा प्रहरीले यस अगाडि नै अनुसन्धान गरेर १९ जनालाई प्रतिवादी बनाउन दिएको राय-सुझाव अनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोग पत्र दर्ता गरिसकेको छ। सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र(जीवी) राई, कोषाध्यक्ष कुमार रम्तेलसहित १९ जना विरुद्ध परेको अभियोग पत्र अनुसार अहिले रम्तेलसहित तीन जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेका छन्। जीवीसहित १६ जना अझै फरारै रहेका छन्।

सुर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको उनीहरूमाथि अभियोग छ। सहकारीको रकम ग्यालेक्सी टेलिभिजनको नाममा निकालेको, पुलेको कर्जा निकालिएको देखिएको लगायतका रवि जोडिएका हुन्। सुर्यदर्शनबाट ग्यालेक्सीको माउसंस्था गोर्खा मिडिया प्रालीको नाममा रकम निकासा हुँदा रवि सो कम्पनीको लगानीकर्तामध्येका एक थिए।

पीडितहरूले पूरक जाहेरीमा गोर्खा मिडिया प्रालीसहित जीवी स‌ंलग्न नेचर हर्बस्स लगायतका कम्पनीमाथि समेत कारबाहीको माग गरेका छन्।

माघ २२, २०८० सोमबार १७:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।