‘तँ चुप लाग्’ भन्दै एन्फा अध्यक्ष नेम्वाङले सहायक रेफ्री राधिका शाक्यलाई बंगलादेश जानै रोके
काठमाडौँ : बंगलादेशमा भइरहेको यू–१९ साफ च्याम्पियनसिपमा सहायक रेफ्रीको भूमिकामा जान लागेकी सहायक महिला रेफ्री राधिका शाक्यलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङको ठाडो निर्देशनले फिर्ता भएको खुलेको छ।
माघ १५ गते एन्फा कम्प्लेक्समा एन्फाका अध्यक्ष नेम्वाङसहितले खेलाडीको बिदाइ गरेको थियो। बिदाइ कार्यक्रममा राधिका शाक्य पनि सहभागी थिइन्।
स्पोर्ट्स जुत्ताको साइज नमिलेपछि त्यही कम्प्लेक्सको हल मुनि जुत्ता साट्न ४५ मिनेट लाइन बसेर हलकै छेउ फर्किएकी शाक्यलाई अकस्मात् अध्यक्ष नेम्वाङ आएर ‘तँ चुप लाग्’ भनेको शाक्यको दाबी छ।
‘म त्यहीँ बसिरहेको थिएँ। साथीहरूसँगै बिदाइ कार्यक्रमकै कुरा भइरहेको थियो। एक्कासी अध्यक्ष ज्यू आएर तँ चुप लाग् भन्नुभयो,’ उनले भनिन्, ‘मैले के भनेको छु र? म किन चुप लाग्ने? भनेँ। त्यसपछि उहाँ रिसाउनु भयो।’
यस विषयमा अध्यक्ष नेम्वाङसित उकेराले जिज्ञासा राख्दा ठूलो विवाद नभएको र गोकुल थापासँग कुराकानी गर्नु भने।
थापाका अनुसार बिदाइका क्रममा शाक्यको पालोमा खादा नपुगेपछि 'बिदाइ कहिल्यै पनि राम्रो गर्दैनौँ' भन्दै शाक्यले चर्काे बोलिन्। हल बाहिर गएर पनि 'हामीलाई सधैं किन हेप्ने?' भनिन्। बाहिर गएर हल्ला गरेको कारण उनलाई बंगलादेश जान रोकिएको बताए।
साफ च्याम्पियनसिपमा सहायक रेफ्रीमा जान एन्फाले नै शाक्यको नाम पठाएको थियो। उताबाट स्वीकृत भएर आएपछि आन्तरिक कलहमा रुमल्लिएर एन्फा अध्यक्षको ठाडो हस्तक्षेप गरेको देखिन्छ नि भन्ने प्रश्नमा थापाले भने, ‘अनुशासनको कारबाही गर्नुपर्ने भएकाले हामीले गरेका हौँ।’
सहायक रेफ्री शाक्यका अनुसार किन शाक्यको नाम सिफारिस गरेको भनेर त्यतिबेला नै एन्फा अध्यक्ष नेम्वाङले चर्काे बोलेका थिए। तँ चुप लाग् भनेको बेला मैले के गल्ती गरेर नबोल भन्नु भएको भनि प्रश्न गरेकै कारण आफू बंगलादेश जान रोकिएको शाक्यको दाबी छ।
‘मैले कुनै गलत कुरा बोलेकै थिइँन। अध्यक्षले भनेको कुरा प्रतिप्रश्न गर्नै नपाइने भन्ने हुँदैन होला,’उनले भनिन्, ‘भोलिपल्ट म विमानस्थल जाँदा क्यान्सील भयो भनेर फर्काइयो।
यू–१९ साफ च्याम्पियनसिपमा नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरू गरेको थियो। आज भुटानसँग खेल्ने नेपाली टोलीले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ।
माघ २१, २०८० आइतबार १३:४०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।