'कट्टा हान्दिन्छु' गीतको रचनामा लफडा, एलिनाको सक्कली कि कार्कीजीको !

'कट्टा हान्दिन्छु' गीतको रचनामा लफडा, एलिनाको सक्कली कि कार्कीजीको !

काठमाडौँ : १२ दिन अगाडि एलिना चौहानको स्वरमा गीत रिलिज भएसँगै म्युजिकतिरको ट्रेन्डिङको पहिलो नम्बरमा चढ्यो। अहिलेसम्म यो म्युजिकको पहिलो ट्रेन्डिङमा छ भने ३६ लाख पटक भिडियो हेरिसकिएको छ।

गीतको बोल छ' मान्दिनेलाई मान्दिन्छु, सान दिनेलाई सान दिन्छु। तिमिले धोका दियौ भने कट्टा हान्दिन्छु, मैले कट्टा हान्दिन्छु।'

ओविआइ रायमाझीको युट्युबमा रिलिज भएको म्युजिक भिडियोमा रायमाझीसँगै आश्मा विश्वकर्माको आकर्षक नृत्य छ।

खेम सेन्चुरीको सङ्गीत मिठो छ यसको। अनि गीतका रचनाकार रहेछन् नेत्र अर्याल। दुई दिन अगाडि विश्वराम कार्कीको युट्युब च्यानलमा अर्को कट्टा हान्ने गीत सार्वजनिक भयो।

गीतको बोल छ' मान्दिनेलाई मान्दिन्छु, सान दिनेलाई सान दिन्छु। धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु।'

यी दुईमा मुख्य कट्टाको रचनामा 'धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु' अनि तिमीले धोका दियौ भने माकसम्' मात्र फरक छ।

यो पनि म्युजिकतिरको ट्रेन्डिङको १३ औँ नम्बरमा छ। दुई दिनमा २ लाख पटक हेरिइसकिएको छ।

यसका गायक विश्वराम कार्की छन्। म्युजिक कार्की जी (सुवास) को रहेको छ। यसको रचनाकारमा कार्की जी(सुवास) र मृगेन्द्र सुवेदीको नाम छ।

गीतको म्युजिक लगायतका अधिकांश शब्दहरू फरक छन्। दुवै डान्सिङ नम्बरका गीत भए पनि एलिनाको स्वरको डान्सिङ नम्बर अलि अब्बल सुनिन्छ।

तर यी दुवै गीतको रचनाको मुख्य आकर्षक लाइन 'कट्टा हान्दिन्छु' चोरेको प्रस्टै देखिन्छ। एक लाइन मात्र फरक पारेर राखिएको रचना संयोग मात्र हुन सक्दैन।

रिलिजको समयको आधारमा हेर्ने हो भने चौहानको स्वरको गीत पहिला सार्वजनिक भएका हो। अर्को कट्टा हान्ने गीत जम्मा दुई दिन अगाडि मात्र रिलिज भएको हो। तर त्यसका रचनाकारमा नाम रहेका कार्कीजीले भने यो गीत धेरै अगाडि रेकर्ड भएको तर म्युजिक भिडियो नबनेकाले सार्वजनिक नभएको भन्दै रचना आफ्नो सक्कली भएको दाबी गरे।

एक युट्युब च्यानलसँगको कुराकानीमा एलिनाको नयाँ गीतको पोस्टर हेर्दा छक्क परेको अनि हतारमा म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको भन्दै गीतको रचना आफ्नो सक्कली भएको दाबी गरे।

कार्कीजी परिचित रचनाकार हुन्। उनले यसभन्दा अगाडि लेखेको अनि सङ्गीत दिएको धोकेबाज हौ तिमी गीत मार्फतै एलिनाको सार्वजनिक छवि तीव्र रूपमा बनेको थियो। यी दुवै परिचितै हुन्। तर गीतको रचना मिलेकोबारेमा अहिलेसम्म यी दुबैबिच छलफल भएको देखिएन। छलफल हुनुपर्ने गायकबिच भन्दा पनि रचनाकारबिचै हो।

गीतको रचनाकारमध्ये एक कार्कीजी आफैँ भएकाले सक्कली आफ्नै हो भने त कानुनी उपचार पनि खोज्ने कि! नत्र त अर्काको रचना हिट भएपछि भाइरल हुन बहाना बनाएको आरोप त लाग्ने नै भयो। किनकि एलिनाको स्वरको गीत उनको भन्दा १२ दिन अगाडि हो सार्वजनिक भएको।

माघ २०, २०८० शनिबार २२:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।