अपराजित यात्रासँगै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि, फाइनलमा आर्मी ६ विकेटले पराजित

अपराजित यात्रासँगै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि, फाइनलमा आर्मी ६ विकेटले पराजित
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं : छैटौँ सँस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा अपराजित यात्रा कायम गर्दै नेपाल पुलिस क्लबले उपाधि चुमेको छ।

पुलिसले शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो।

पुलिस लिग चरणमा सबै ९ खेलमा विजयी भएको हो।

त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेलेका थिए भने जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल अन्त्य गरे।

आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे। पुलिसले ओपनर दीलिप नाथलाई ७ र कुशल भुर्तेललाई १४ रनमै गुमाएको थियो।

तेस्रो विकेटका लागि अर्जुन साउद र अमित श्रेष्ठले ५९ रनको साझेदारी गर्दै जित सहज बनाए। अमित ५१ बलमा २ चौकासहित २८ रनमा आउट भए। अमितको ८ रनमा विवेक यादवले क्याच छाडेका थिए। अर्जुन ५८ बलमा ४ चौकासहित ३६ रनमा आउट भए।

आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १–१ विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भयो।

आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन।

तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए। एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरे। अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए।

जितेन्द्र ११ बलमा २ रनमा नट आउट रहे। स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्य क्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन्। चोभार एन्डबाट आएका स्पिनर ललित राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखे।

पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे। भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरे।

सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो। दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए। करण केसीको बलमा उनी क्याच आउट भएका थिए।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए। उनी सागर ढकालको बलमा एलबीडब्लू आउट भएका थिए। बसिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर अजुन साउदबाट १ रनमा क्याच आउट भएपछि आर्मी २०.४ ओभरमा ६०–६ को अवस्थामा पुग्यो।

ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए। उनले ६६ बलमा १ चौका र १ छक्का हाने। पुलिसका स्पिनर ललित राजवंशीले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए।

सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १–१ विकेट हात पारे।

पुलिस क्लबले यसअघि सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो भने २०१९ मा उपाधि जितेको थियो। आर्मीले भने प्रधानमन्त्री कपमा लगातार छैटौँ पटक फाइनल खेलेको हो।

आर्मीले २०१७ मा पुलिससँग बाँडेको थियो। २०२१ मा उपाधि जितेको थियो।

जितसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

माघ २०, २०८० शनिबार १६:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।