राजावादीहरूलाई माधव नेपालको चुनौती : प्रधानमन्त्री बन्ने चाहना हो भने चुनाव लडे हुन्छ

राजावादीहरूलाई माधव नेपालको चुनौती : प्रधानमन्त्री बन्ने चाहना हो भने चुनाव लडे हुन्छ

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र चाहिन्छ भन्नेहरूलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन चेतावनी दिएका छन्।

एकीकृत प्रगतीशिल प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतिहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए।

उनले अब नेपालमा राजतन्त्रको कुनै औचित्यता नभएको बताए।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कदापि सम्भव छैन। त्यसले केही पार लाग्दैन। कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन। राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो। यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ। जनताका बीचमा भिजे हुन्छ। चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ।’

उनले देशमा निराशाजनक परिस्थिति र चर्को व्यक्तिवाद हावी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

उनले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ। आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन। यति चर्को व्यक्तिवाद हावी भएको छ कि त्यसको कुनै जवाफ छैन। यदि प्रत्येकले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन। अहिले हाम्रो देशको परिस्थिति निराश जनक छ। यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो। अरू कसैले गरेर हुनसक्दैन। प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ। विकल्पको बारेमा सोचेका हौ तर पाएनौँ। त्यस कारण अब विकल्प हामीले दिने हो।’

माघ २०, २०८० शनिबार १४:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।