इंग्ल्याण्ड विरुद्धको दोस्रो टेस्टमा यशस्वी जैसवालको दोहोरो शतक

इंग्ल्याण्ड विरुद्धको दोस्रो टेस्टमा यशस्वी जैसवालको दोहोरो शतक

एजेन्सी : भारतका बायाँ हाते ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले विशाखापट्टनम टेस्टमा आफ्नो करियरको पहिलो दोहोरो शतक बनाएका छन्।

यशस्वी जैसवालले आफ्नो २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै २०० रन पूरा गरे। उनले लगातार दुई बलमा पहिलो छक्का र चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरे।

छैटौं टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन्।

हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए। उनीसँगै आर अश्विन खेलिरहेका थिए। तर उनी २० रन बनाएर आउट भए।

पछिल्लो समाचार सम्म भारतले सात विकेट गुमाएर ३८० रन बनाएको छ।

इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेष्ट शृंखलाको दोस्रो खेलको पहिलो दिन भारतले ६ विकेटमा ३३६ रन बनाएको छ।

यो खेलमा भारतीय ओपनर यशस्वी जैसवालले आफ्नो टेष्ट करियरको दोस्रो शतक प्रहार गरेका छन्।

यशस्वीले शुक्रबार २५७ बलमा अविजित १७९ रन बनाएका थिए। तर, उनी बाहेक कुनै पनि भारतीय ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्।

कप्तान रोहित शर्माले १४, शुभमन गिलले ३४, श्रेयस अय्यरले २७, रजत पाटीदारले ३२ र अक्षर पटेलले २७ रन बनाए।

इंग्ल्याण्डका लागि रेहान अहमद, शोएब बशीर र जेम्स एन्डरसनले २-२ तथा टम हार्टलीले एक विकेट लिए।

माघ २०, २०८० शनिबार १०:४८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।