दुई सन्तानलाई १५औं तलाको झ्यालबाट फालेर हत्या गर्ने पितालाई चीनमा मृत्युदण्ड दिइयो

दुई सन्तानलाई १५औं तलाको झ्यालबाट फालेर हत्या गर्ने पितालाई चीनमा मृत्युदण्ड दिइयो

एजेन्सी : दुई सन्तानलाई झ्यालबाट फालेर हत्या गर्ने एक जोडीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ।

बुवा झाङ बो र उनकी गर्लफ्रेन्ड यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

झाङको यीसँग अफेयर चलेपछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको चीनको सर्वोच्च अदालतको ठहर छ। अदालतले आफ्नो आदेशमा यसलाई ‘बर्बर’ भनेको छ।

दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो। मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन। चीनमा सामान्यतया विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर मृत्युदण्ड दिइन्छ।

अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो वैवाहिक सम्बन्ध र परिचय लुकाएर अफेयर सुरू गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखेकी थिइन्।

झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए। यद्यपि दुई छोराछोरीलाई उनले सबैभन्दा ठूलो बाधकको रूपमा लिएको अदालतको आदेशमा उल्लेख छ।

यीले दबाब दिएपछि झाङले नोभेम्बर २, २०२० मा आफ्ना दुवै बच्चाहरूलाई १५औं तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट बाहिर फालेका थिए।

२० माघ, २०८०, ०८:१०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।