कांग्रेस संसदीय दलमा विनोद चौधरीको दाबी 'साथीहरूले सुरक्षित मुलुक रोजौँ भन्दा म देश भनेर बसेँ, अहिले चकित छु'

कांग्रेस संसदीय दलमा विनोद चौधरीको दाबी 'साथीहरूले सुरक्षित मुलुक रोजौँ भन्दा म देश भनेर बसेँ, अहिले चकित छु'

काठमाडौँ : नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरी समूहका प्रमुख विनोद चौधरीले आफ्नै दलको समर्थनमा बनेको सरकारलाई प्रतिशोध साँधेको आरोप लगाएका छन्।

पार्टीको संसदीय दलको बैठकमा प्रहरीले उनको भाइ अरुण चौधरीलाई पक्राउ गरेकोबारेमा उनलाई आफ्नो भनाई राख्न समय दिएपछि चौधरीले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा वैधानिक ढङ्गले नै लिएको दाबी समेत गरेका थिए।

शुक्रवारै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरेर बाँसबारी छाला जुत्ता कारखानाको तत्कालीन नेतृत्वसहितको मिलेमतोमा बाँसबारीको सरकारी जग्गा हडप्ने योजना अनुसार काम भएको प्रमाण फेला परेकाले अरुणसहित तीन जनालाई पक्राउ गरेको सार्वजनिक गरेको थियो।

चौधरीले पार्टीको संसदीय दलको बैठकमा सरकारको आलोचना गर्दै प्रतिशोध साँधेको दाबी गरे। तर प्रतिशोध साध्नुको कारण खुलाउन सकेनन्।  उनले सरकारले व्यवसायीलाई धरपकड गर्नु न्यायोचित नभएको दाबी गरेका थिए।

उनले बैठकमा पूर्व जानकारी नदिई एक्कासि पक्राउ गरिएको भन्दै गृह प्रशासन र सीआईबीको आलोचना गरेका थिए। अवैध रूपमा विदेशमा लगानी बढाएर पुँजी पलायन गरिरहेको आरोप लाग्दै आएका विनोदले बैठकमा आफ्ना साथीहरूले असुरक्षित व्यवसाय किन गर्ने भन्दै सुरक्षित मुलुक रोजौँ भने पनि आफू देश भनेर बसेको तर अहिलेको व्यवहारबाट चकित परेको दाबी गरेका थिए।

चौधरीले आफ्नो भाइ पक्राउ परेकोमा आपत्ति जनाइरहे पनि बैठकमा सहभागी पार्टी सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवाले भने त्यति चासो देखाएनन्। उनले चौधरीको भनाइप्रति कुनै प्रतिक्रिया आगामी संसद्को अधिवेशनबारे सांसदहरूलाई निर्देशन दिँदै अधिवेशन चलेको बेलामा काठमाडौँ नछाड्न भनेका थिए।

बैठकमा भएका छलफलबारे जानकारी दिँदै कांग्रेस नेता रमेश लेखकले बैठकमा चौधरीले आफ्ना कुराहरू राखेको तर त्यसबारे दलको बैठकले कुनै निर्णय नगरेको जानकारी दिएका थिए।

चौधरी समूहबारे समाचार

 

बाँसबारी प्रकरण 

माघ १९, २०८० शुक्रबार २०:३८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।