ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक र जलवायु फाइनान्सिङ्गमा परिचालन गर्ने

ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक र जलवायु फाइनान्सिङ्गमा परिचालन गर्ने

काठमाडौँ : विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर (करिब सात अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने सम्झौता गरेको छ।

यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरूलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ बैंकले जनाएको छ।

नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठुलो लगानी तथा परिचालन भएको बैंकले जनाएको छ। सो रकमले साना तथा मझौला व्यवसाय, कोभिड १९ महामारीबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुर्याउने बैंकले जानकारी दिएको छ।

आईएफसीको लगानीले स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरूलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा विशेष योगदान पुर्याउने बैंकले जानकारी दिएको छ।

ऋणको ५० प्रतिशत ग्लोबल आइएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकहरूको लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समानरुपमा विनियोजन गर्ने र बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरूमा कर्जा प्रवाह गर्न प्रयोग गर्ने बैंकले सार्वजनिक गरेको छ।

नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान छ भने २० लाख बढीलाई रोजगारी दिएको छ।

तर ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा रहेको छ। यो अन्तर झन्डै ३.६ बिलियन डलरको रहेको छ।

महिलाको स्वामित्व रहेका साना तथा मझौला उद्यममा यो स्थिति अझ कमजोर रहेको छ। महिलाको स्वामित्व रहेका करिब ५२ प्रतिशत साना तथा मझौला उद्यममा सीमित वित्तीय पहुँच रहेको तथ्याङ्क छ।

ग्लोबल क्लाइमेट इन्डेक्स (२०२१) मा जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशको दसौँ स्थानमा रहेको नेपालका लागि सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य भेटाउन जलवायु वित्तको विशेष महत्त्व छ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले नेपाल राष्ट्र बैंक नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा नेपाल राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुगेको बताए।

उनले आईएफसीसँगको ऋण सम्झौताबाट नेपालका साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बताएका थिए।

‘विश्व जनमानस जलवायु र वातावरणीय प्रभावको बारेमा सचेत हुँदै गइरहेको अहिलेको अवस्थामा भएको यो ऋण सम्झौताले जलवायु र लैङ्गिक फाइनान्सिङ्गमार्फत दिगोपनको लागि हाम्रो प्रतिबद्धता जाहेर गरेको छ,' उनले भने।

नेपालको ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गरेर लैङ्गिक असमानता कम गर्ने लक्ष्य राखेको भन्दै ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यस प्रयासमा आईएफसीसँगको साझेदारीमा आभारी रहेको बताए।

‘नेपालमा आईएफसीको रणनीतिक प्राथमिकताहरूमध्ये वित्तीय समावेशीकरण र वित्तीय क्षेत्रको स्थायित्वलाई सहयोग गर्नु महत्त्वपूर्ण रणनीति हो। त्यसैअनुसार, यो लगानीले नेपालमा जलवायु– स्मार्ट सम्पत्ति र महिलाको स्वामित्व रहेका साना तथा मझौला उद्यममा निजी क्षेत्रको लगानीलाई उत्प्रेरित गर्दै लैङ्गिक तथा जलवायु वित्त बजारलाई सुदृढ पार्ने लक्ष्य राखेको छ’ नेपाल, बंगलादेश र भुटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बताए।

नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आईएफसीको यस फाइनान्सले नेपालका साना तथा मझौला उद्यमहरूमा फाइनान्सिङ्ग गर्न सहयोग पुग्ने बताए।

यो साझेदारी, आईएफसी र ग्लोबल आइएमई बैंकबिचको तेस्रो साझेदारी हो। सन् २०२२ मा आईएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) को एक भागको रूपमा एक व्यापार वित्त सुविधा विस्तार गरेको थियो। जसमा हरित व्यापार फाइनान्सिङ्गको लागि विशेष प्रावधान समावेश थियो।

उक्त समयमा, त्यो सम्झौता आईएफसीले हरित व्यापार फाइनान्समा गरेको विश्वकै पहिलो ऋण प्रवाह थियो।

माघ १९, २०८० शुक्रबार १९:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।