माघ १९ को सम्झना : 'सुपर सम्पादक' जीवरामसँगको लफडाले राजधानी दैनिकमा आजीवन निलम्बन
स्थानीय सरोकारको रिपोर्टिङको जिम्मा पाएको मेरो भागमा माघ १९ को शाही 'कु' ले राजनीतिक विषय ल्याइदियो राजधानी दैनिकमा।
कारण, माघ १९ पछि बदलिएको राजनीतिक माहौलमा अधिकांश पत्रिकाले 'पर्ख र हेर' मा बस्दै मोजाको सम्पादकीय छापिरहँदा राजधानी दैनिकले भने समाचार कक्षमा बसेका बन्दुकधारी 'सुपर सम्पादक'हरूलाई छक्काउँदै राजनीतिक समाचार प्रकाशित गरिरहेको थियो।
माघ २० मा प्रकाशित राजधानीमा कुन नेता कहाँ नजरबन्दमा परे भन्ने समाचार प्रकाशितहुँदा नै हङ्गामा भएको थियो।
त्यसको कोपभाजनमा परेर चीफरिपोर्टर रामप्रसाद दाहाललाई व्यवस्थापनले बर्खास्त नै गर्यो। राजनीतिक विषयमा कसले रिपोर्टिङ गर्ने भन्ने खोजिकाक्रममा सम्पादक कपिल काफ्लेले नेपाली कांग्रेसको गतिविधि लेख्ने जिम्मा मलाई दिए।
राजनीतिक विषयमा काँचै भए पनि त्यो बेलामा दलको सामान्य विज्ञप्ति पनि स्कुप बनिदिन्थ्यो। बने पनि। दलको विज्ञप्ति प्रकाशित गर्न पनि नसकिने अवस्थामा करिब डेढ महिना राजधानीले गजबका राजनीतिक विषयका समाचार प्रकाशित गरिरहेको थियो।
समाचारकक्षमा 'सुपर सम्पादक' बनेर सेना बसे पनि सेनालाई अल्मल्याउन डेक्सचिफ नारायण अमृतदाई लगायत सफल भइरहेका थिए। राजनीतिक कन्टेन्ट बनाउने टिम रामप्रसाद दाहाल, थिरलाल भुसाल लगायत सक्रिय थिए। प्रकाशित समाचारका कारण सम्पादक, समाचार सम्पादकहरू बारम्बार जिल्ला प्रशासन कार्यालय धाइरहेका थिए।
राजनीतिक विषय मेरो भागमा आइपुग्दा राजनीतिक माहौल केही खुकुलो भइसकेको थियो। दलका नेतामाथि सुरक्षा निगरानी त थियो तर अधिकांश नजरबन्द मुक्त भइसकेका थिए। राजनीतिक गतिविधि बढिरहेको थियो।
समाचार कक्षबाट सेना हटिसकेको थियो। तर प्रशासनिक दबाब र निगरानी भने कायमै थियो। एक दिन एकाएक समाचार कक्षमा देखिए जीवराम भण्डारी। पहिला परिचय थिएन।
उनी राजधानी दैनिकमा प्रकाशित हुने राजनीतिक समाचार तत्कालीन शाही सत्ता अनुकूल बनाउन बन्दुकको साटो कलम लिएर 'सुपर सम्पादक'को हैसियतमा आएको चर्चा भइरहेको थियो।
मैले त्यति वास्ता गरिन। स्टिन्जर थिएँ म। त्यो बेलामा सात दल बनिसकेको थियो। उनीहरूले फाट्टफुट्ट राजनीतिक गतिविधि गरिरहन्थे। त्यही फर्मल समाचारको पनि नेताले बोलेको जस्ताको त्यस्तै प्रकाशित हुनु ठूलो कुरा थियो।
जीवरामको चासो राजनीतिक समाचार, अझ विशेष सात दलको गतिविधिमै देखिन्थ्यो। काफ्ले समाचारको सवालमा निष्क्रिय देखिइसकेका थिए।
समाचारकक्षमा एकाएक जीवरामको प्रवेशसँगै प्रकाशक महेन्द्र शेरचनको सञ्चार राज्यमन्त्री बन्ने तयारीको चर्चा पनि चुलिएको थियो। सञ्चारमन्त्री टङ्क ढकालले समाचार कक्ष आफू अनुकूल चलाउन विभिन्न मिडियामा आफ्ना प्रतिनिधिहरू खटाएको र राजधानी जीवरामको भागमा परेको सिनियरहरु सुनाउँथे।
प्रारम्भमा त त्यति वास्ता पनि भएन। समाचार लेख्यो, हिँड्यो। बिस्तारै समाचारका भाषाहरू बदलिन थाल्यो। नारायणदाई (नारायण अमृत) डेस्क सम्पादक भएकाले प्रायः गुनासो गर्ने त उनलाई नै थियो। प्रायः उत्तर 'मैले हैन कान्छा ' भन्ने नै आउँथ्यो।
त्यसपछि भने जबसम्म जीवराम न्युज रुममा बस्छन् राजनीतिक समाचारै नलेख्ने, ढिला लेख्ने गर्न थालियो। त्यसो गर्दा समाचारको भाषा गडबड हुन कम हुनथाल्यो। तर समाचार किन ढिला लेखेको भन्दै मौखिक स्पष्टीकरणहरू आउने क्रम बढ्यो।
सात दल मिलेर विरोध कार्यक्रमहरू गरिरहेका थिए। खुल्लामञ्चमा सात दलले संयुक्त विरोध सभाको आयोजना गरेको थियो। रिपोर्टिङको जिम्मा मेरो भागमा आयो। कार्यक्रम स्थलमा गएर सबै दलका नेताहरूको भाषण टिपोट गरियो। गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूले राजतन्त्र अनि ज्ञानेन्द्र शाहविरुद्ध चर्का भाषण गरेका थिए। दरबारको यस्तै पारा हो भने गणतन्त्रलाई रोक्न सकिन्न भन्ने लाइनमा बोलेका थिए अधिकांश नेताहरूले।
खुल्ला ठाउँमा भएको कार्यक्रमको भाषणमा आधारित समाचार थियो त्यो। कार्यालय आएर अलि ढिला नै समाचार लेखे पनि जीवराम समाचार कक्षमै थिए त्यो दिन।
सार्वजनिक कार्यक्रमको समाचार त के बिगार्लान् र भनेर नेताहरूले 'यस्तै पारा हो भने राजतन्त्र नरहन पनि सक्छ' भन्ने लाइनमा बोलेकैलाई मूल एंगल बनाएर समाचार लेखेँ। डेस्कमा बुझाइयो अनि हिँडियो।
बिहान जुरुक्क उठेर सबैभन्दा पहिला आफूले लेखेको समाचार कुन पानामा छापियो भनेर खोज्दै पढ्नु नियमित प्रक्रिया बनिसकेको थियो।
भोलिपल्ट बिहान समाचार पढ्दा त रननन भइहाल्यो। बाइलाइन मेरै थियो तर समाचार पुरै उल्टो। नेताहरूले 'यस्तै हो भने राजतन्त्र चाहिँदैन' भनेर बोलेको ठाउँमा त 'राजतन्त्रको विकल्प छैन' भन्ने पाराको समाचार पो छापियो। कमसेकम बाइलाइन नभएको भए पनि अर्कैले उल्टो समाचार लेखेर त्यही छापेछन् भन्नु, बाइलाइन आफ्नै छ तर समाचार पुरै उल्टो।
यस्तो रनन भयो कि कुरै नगरौँ! बेइज्जतको पनि हद हुन्छ नि। एकल कुराकानी गरेर लेखेको समाचार बिगारेको भए पनि सम्बन्धित मान्छे र मलाई मात्र थाहा हुन्थ्यो। त्यो त खुल्लामञ्चमा हजारौँका अगाडि नेताहरूले सार्वजनिक रूपमा गरेको भाषणमा आधारित समाचार थियो। कि नछापेको भए पनि हुने। अब बोल्दै नबोलेको कुरा नेताको मुखबाट बोलाएर छापेपछि सहनु पनि कसरी!
'हैन के समाचार लेखेको' भन्दै फोनहरू आइरहे। दिनभर कतै जान मन लागेन। घरमै बसेँ। कार्यालय चाँडै गएर पनि कोही भेटिने हैनन्। नारायणदाई अनि जीवराम बेलुकातिर आउँथे। सोध्नुपर्ने उनीहरू नै थिए।
दिनभर छटपटीमा बित्यो। चार बजेतिर कार्यालय गएर साथीभाइहरूसँग उल्टो समाचार छापिएको गुनासो गरेँ। उनीहरूले बेइज्जत गरेछन् भन्दै सान्त्वना दिए।
बेलुका सात बजेतिर नारायणदाई आएपछि पहिल्यै समाचारबारे गुनासो गरेँ' दाइ मेरो समाचार त लेखेको भन्दा उल्टो पो छापिएछ। बोल्दै नबोलेको कुरा राखिएको छ। कसले गर्यो यस्तो?'
उनले 'जीवरामको काम होला, मैले समाचार हेरेको हैन' भन्दै चिया-खाजा खान लगे। चिसो मौसम, रिसले दिमाग घुमिराख्या थियो। चियासँगै 'सिया' पनि पिइयो।
खाजा समयभर त्यही समाचारको विषयमा कुरा भयो। जीवराम भण्डारीलाई सोध्नुपर्छ भन्ने सहमतिसहित उठियो।
कार्यालय आइपुग्दा जीवराम साबिक आफ्नै कुर्सीमा बसिरहेका थिए। म सरासर गएर समाचारबारे कुराकानी गरेँ। उनले पनि 'मैले हेरेको हैन' भने। अब नारायणदाइले नि हैन अनि जीवराम भण्डारीले पनि हैन। भनेपछि कसले त?
दुबैजनालाई सँगै राखेर 'मेरो समाचार कसले उल्टोपाल्टो बनाएर नेताहरूले बोल्दै नबोलेको कुरा राख्यो, त्यो चाहियो' भनेँ।
दुबैजनाले एकले अर्कालाई दोष लगाउन थाले। भण्डारी राजधानीको समाचार कक्षमा आउनुको नियत प्रस्टै थियो। तर उनैले समाचार बिगारेका हुन् भन्ने प्रमाण मसँग थिएन। समाचार फाइनल गर्ने दुईमध्ये एकले नै हो।
दुवैबीचको विवाद चर्काचर्कीमा पुग्यो। म बीचमा बसेर सुनिरहेको थिएँ। खाजासँगै पिएको 'साजा' को गन्ध आउने भइनैहाल्यो।
जीवरामले 'रक्सी खाएर मसँग कुरा गर्न आउने हैन' भनेपछि माहौल झन् उग्र भयो। समाचार उल्टो बनाएर बाइलाइनसहित छापेर अर्काको करिअरमा खेल्ने अधिकार कसले दियो भनेर म पनि मिसिएँ रन्काइमा।
विवाद उग्रहुँदै गएपछि जीवराम 'पख तिमीहरूलाई' भन्दै समाचार कक्षबाट बाहिरिए। हेरौँला नि त भनेर हामी केही समय बस्यौँ। उनी फर्किएनन्। लेख्नुपर्ने समाचार केही थिएन, म घरतिर लागेँ।
भोलिपल्ट कार्यालय पुग्दा माहौल बदलिइसकेको थियो। मेरो नाममा रिसेप्सनमै प्रशासनको स्पष्टीकरण पत्र थियो। हाजिर गर्न नदिन आदेश आएको रहेछ। पत्र बुझेँ। मापसेगरी कार्यालयमा आएर होहल्ला गरी अनुशासन उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्ने पाराको पत्र थियो। विवादको मुल विषय समाचारको थियो। मापसे गरेर कार्यालय आउँदा अनुशासन उलंघन हुने भए अधिकांशले त्यस्तो पत्र पाइसक्थे।
पत्रकारितालाई करिअर बनाउन मिहिनेत गरिरहेको व्यक्तिले सार्वजनिक स्थानमा भएको कार्यक्रमको रिपोर्टिङ गरेर बुझाएको समाचार उल्टोपाल्टो बनाएर छाप्दै पत्रिकाको विश्वसनियता र मेरो करिअरमाथि भएको खेलबाडबारे केही उल्लेख थिएन। मैले खोजेको उत्तर त कसले मेरो समाचार उल्टो बनायो भन्ने हो नि। त्यसबारे चासै छैन।
पत्र लिएर समाचारकक्षमा गएँ। छलफल गरेँ। अनि आफ्नै पारामा विवादको मुख्य विषय जे हो त्यही उल्लेख गरेर प्रशासनमा पत्र बुझाएँ।
समाचारको विषयमा विवाद तीनजनाबीच भएको थियो। स्पष्टीकरण चैं मलाई मात्र आएको थियो। नारायणदाईलाई राजधानी दैनिकको डेस्क चिफबाट राजधानी कतार साप्ताहिकमा सरुवा गरिएको थियो। जीवराम भण्डारी त्यो दिनदेखि कार्यालय आएको देखिएन।
त्यसको केही दिनमा स्पष्टीकरण चित्त नबुझेको भन्दै पुन पत्र आयो। फेरि त्यही मापसेगरी कार्यालयमा आएर आफूभन्दा सिनियरलाई दुर्व्यवहार गरेको विषय मात्र थियो। समाचार उल्टोपाल्टो पारेको विषय कतै उल्लेख थिएन। मलाई मात्र पेल्ने भनेर झोक चल्यो। मापसे गरेको पुष्टि गर्नसँगै पत्रकारिताको धर्मविपरित स्वार्थबस समाचार उल्टोपाल्टो पार्ने अधिकार कसले दियो भनेर कडै उत्तर लेखेर बुझाएँ।
भोलिपल्ट अर्को पत्र आयो। त्यसमा निलम्बन गरिएको हैन, आजीवन राजधानी दैनिकमा निलम्बन गरिएको उल्लेख थियो। पत्र पढेर हाँस्नु बाहेक अर्को विकल्प थिएन। त्यो बेलामा निहुँ खोजेर हुने पनि केही थिएन। घरतिर बस्न थालेँ। त्यही बेलामा राजनीतिक कारण विभिन्न सञ्चारमाध्यमबाट निकालिएका पत्रकारहरू मिलेर स्वतन्त्र समाचार सेवा सुरु गरेको थाहा पाएँ।
राजधानीबाट निकालिएका रामप्रसाद दाई कार्यकारी सम्पादक भएकाले त्यहाँ जोडिन सहज भयो। ६ महिनाजति त्यतै काम गरेपछि लोकतन्त्र आयो। शाही शासनकालमा विभिन्न मिडिया हाउसबाट निकालिएकाहरू मिलेर श्रमजीवी पत्रकार सङ्घर्ष समिति नामक लुज नेटवर्क बनाएर मिडिया हाउस केन्द्रित आन्दोलन सुरु भयो।
स्पेशटाइम नेटवर्क, एचबिसी एफएमसँगै राजधानीमा समेत म र अब्दुल्लाह मिया एक महिनाको पारिश्रमिक क्षतीपुर्तीसहित पुनर्स्थापना भयौँ। रामप्रसाद दाइको केस अदालतमा विचाराधीन भएकाले सहमति हुन सकेन। पछि मुद्दा जितेर सेवा-सुविधासहित पुनर्स्थापित भएर एक दिन हाजिर गरेसँगै राजधानीको मुद्दाबाट दाहाल पनि मुक्त भए। म ६ महिनाजति राजधानीमा काम गरेर नयाँ पत्रिकातिर लागेँ।
शेरचन मन्त्री बन्न सकेनन्। पछि एमालेबाट सांसदसम्म हुनसके। तर उनको लोभले जमिसकेको मिडिया हाउस अति कमजोर भयो। कोरोनाको कहरमा उनको मृत्यु भएपछि अहिले उनको परिवारका सदस्यले राजधानी धानिरहेका छन्। प्रशिक्षार्थीहुँदै रिपोर्टरसम्म चार वर्ष काम गरेको पत्रिका खूब माया लाग्छ।
अहिले जीवराम भण्डारी चल्तीका टेलिभिजन अन्तर्वार्ताकारका रुपमा परिचित छन्। मेरो घर नजिकै छ उनले काम गर्ने टेलिभिजन। चिया पसलमा बसिरहेको बेलामा बेलाबखत हाइहलो भइरहन्छ। तर उनलाई देख्दा मेरो नजरमा भने त्यही राजधानीको उल्टो समाचार अनि आजीवन निलम्बनको पत्र नाच्छ।
माघ १९, २०८० शुक्रबार १६:४६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।