दयाहाङ राईमाथि एक वर्षमा ५० करोड लगानी, साइन गरेका फिल्मको नामसमेत याद छैन

दयाहाङ राईमाथि एक वर्षमा ५० करोड लगानी, साइन गरेका फिल्मको नामसमेत याद छैन

काठमाडौं : एक दशकयता नेपाली फिल्म क्षेत्र अभिनेता दयाहाङ राई वरपर घुमेको छ। दयाहाङलाई फिल्ममा लिएपछि लगानी सुरक्षित हुने ठानेर यतिखेर उनीमाथि निर्माताहरूले ५० करोडभन्दा बढी लगानी गरेका छन्।

राईले पछिल्लो समय एक दर्जनभन्दा बढी फिल्म साइन समेत गरिसकेका छन्। बिहीबार फिल्म ‘दयारानी’को पत्रकार सम्मेलनमा उनले आफूले कति वटा फिल्म साइन गरेको भनेर ठ्याक्कै भन्न समेत सकेनन्। केही फिल्मका नाम लिएका उनले अझै पाँच वटा फिल्म साइन गर्न बाँकी नै रहेको खुलाए।

अहिले साइन गरेको फिल्मको धमाधम सुटिङ हुँदासमेत उनले अर्को वर्षसम्म काम गर्न नभ्याउने अवस्था छ। त्यही भएर उनी तत्काल नयाँ फिल्म साइन नगर्ने पक्षमा देखिए।

‘अब एक वर्ष नयाँ फिल्म साइन गर्दिनँ,’ उनले भने, ‘यद्यपि साइन गरिसकेका पाँच फिल्म भने घोषणा हुनेछन्।’

यो वर्ष दयाहाङ अभिनित नौ वटा फिल्म प्रदर्शन हुँदैछन्। फिल्म ‘जारी’, ‘बिहे पास’ र ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आइसकेका छन् भने माघ २६ गते एकैसाथ ‘हात्ती’ र ‘दयारानी’ प्रदर्शनमा आउँदैछन्।

आफ्नो दुवै फिल्म एकै मितिमा आउँदा आजकल अनौठो लाग्न छोडेको उनी बताउँछन्। दुवै फिल्मको कथावस्तु फरक–फरक भएकाले दर्शकको रुचिअनुसार फिल्म हेर्ने उनको बुझाइ छ।

‘यसलाई फिल्म जुध्न लागेको भनेर बुझ्न हुँदैन। दर्शकको आ-आफ्नै स्वाद हुन्छन्,’ उनले भने, ‘यसैले, एकसाथ फिल्म रिलिज हुँदा मलाई कहीँ कतै दबाव त हुन्छ नै। तर, पनि अहिलेको अवस्थामा दुई फिल्म रिलिज हुँदा हल नै नपाउने समस्या भने छैन।’

‘तपाईसँग फिल्म साइन गराउन नपाएर निर्माताहरू रुँदै हिँडेका छन् रे नि!’ भन्ने प्रश्नमा उनले ‘त्यसो त होइन, तर गुनासो चाहिँ गर्नुहुन्छ’ भन्ने जवाफ दिए।

पछिल्लो समय उनी फिल्मको ‘क्वालिटी’ भन्दा पनि ‘क्वान्टिटी’मा जोड दिइरहेका छन्। पत्रकारसँगको भेटमा उनले अहिलेको आवश्यकता पैसा नै रहेको आशय समेत व्यक्त गरे। 

माघ १९, २०८० शुक्रबार १४:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।