एक करोडको फिडर वायर चोरी प्रकरण : बुटवल धागो कारखाना र प्रादेशिक अस्पताल आमनेसामने

एक करोडको फिडर वायर चोरी प्रकरण : बुटवल धागो कारखाना र प्रादेशिक अस्पताल आमनेसामने

बुटवल : बुटवलको धागो कारखानाबाट एक करोड मूल्य बराबरका सामानहरू चोरी भएको पाइएको छ। धागो कारखानालाई कोभिडको समयमा लुम्बिनी प्रादेशिक अस्पतालले कोराना अस्थायी अस्पतालको रूपमा प्रयोग गरेको थियो।

त्यहि समयमै त्यहाँबाट एक करोड मूल्य पर्ने फिडर वायर चोरी भएको बुटवल धागो कारखानाले जनाएको छ। कोरोनाको महामारी कम भएपछि अस्पताल सञ्चालनको २२ महिनापछि कोभिड अस्पताल त्यहाँबाट हटाइएको थियो। यद्यपि अहिले पनि अस्पतालका केही सामान कारखानामै छन्।

बुटवल धागो कारखाना लिमिटेडका कार्यालय प्रमुख डोलराज शर्माले अस्पतालले त्यहाँ विरामी राख्न छाडेपछि गएर हेर्दा केही कारखानाका उपकरण र महत्वपूर्ण वायर चोरी भएको बताए। कोभिडको समयमा त्यहाँ अन्य व्यक्तिलाई प्रवेश दिइएको थिएन। त्यहि मौकामा उपकरण, मेसिनभित्र विच्छ्याइएका तारहरू चोरी भएको उनको भनाइ छ।

‘आईसीयू, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका तारहरू चोरी भएका छन्। यी सबैको मूल्य १ करोड बढी पर्न जान्छ’, उनले भने।

उनले सवस्टेशनबाट मेसिनमा लगिएको दुई हजार मिटर तार चोरी भएको बताए। उनका अनुसार कारखानाको पूर्व र पश्चिपट्टीबाट पसेर सामान चोरिएका छन्। उनले तारसहित उपकरण चोरी भएपछि यसबारे ईलाका प्रहरी कार्यालयमा समेत निवदेन दिएको बताए।

‘कोभिड अस्पतालका सामानहरू ०७९ पुसमा सारिएको थियो,’ उनले थपे, ‘तर तार चोरी भएको ०७९ चैत १८ गते मात्र थाहा भयो।’

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डीतले तार चोरीको विषयमा मुद्दा चलेर अदालतमा गइसकेको बताए। दुई चरणमा गरेर घटनामा संलग्न भएको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो। तीमध्ये केही धरौटीमा छुटेको र केही पुर्पक्षका लागि जेल चलान भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले कोभिड अस्पताल रहँदा आफू जिम्मेवारीमा नहुँदा केही जानकारी नपाएको बताए। उनले अहिले कोभिड अस्पतालका काम लाग्ने सामानहरू धागो कारखानामा नभएको बताए।

कारखानाका प्रमुख शर्माले भने अस्पतालले सबै सामान लैजान खोजे पनि आफूहरूले लथालिङ्ग पारेको कारखाना मिलाएर मात्र सामान लैजानुपर्ने भन्दै रोकेको बताए।

‘कुन अवस्थामा दिएका थियौँ। अहिले कस्तो छ। सामान लैजान खाजेका हुन्। तर हामीले दिएका छैनौँ। अहिले पनि सामान छ। यो सबै नबनाएसम्म लैजाने दिने कुरा भएन’, उनले भने।

धागो कारखाना सरकारी बेवास्ताले रुग्ण बन्दै १६ वर्षदेखि बन्द छ। स्वदेशी कपास, स्वदेशी धागो र स्वदेशी सुतीको कपडा उत्पादन गरेर आत्मनिर्भर हुने योजना सहित २०३९ सालमा उद्योग स्थापना भएको थियो।

उद्योगले २०४८ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर कमजोर व्यवस्थापनले कारखाना स्थापना कालदेखि नै नाफामा जान सकेन। चल्दै बन्द हुँदै गर्दा २०६६ सालबाट बन्द उद्योगमा अहिले थोत्रा मेसिनहरू छन्।

२०६६ भदौमा सबै मजदुरलाई अनिवार्य अवकाश दिएपछि अहिले चार जना कर्मचारीले बन्द उद्योग कुरिरहेका छन्। कारखाना बन्द हुँदा ६ वटा भवन सहितको जग्गा बेवारिसे छ।

हाल धागो कारखानाले अहिले रेखदेखको जिम्मा लिन बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गरेको छ। धागो कारखाना सञ्चालक समितिले असोज ११ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र पठाएर कर्मचारीको तलब समेत खुवाउन नसकेको भन्दै कारखानाको सुरक्षा जिम्मेवारी लिन आग्रह गरेको थियो।

बुटवल औद्योगिक क्षेत्र भित्र रहेको १ सय ४३ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका भवनहरू २३ हजार बर्ग मिटरमा छन् । त्यी भवन भित्र ५६ वटा धागो बनाउने मेसिन छन् । उक्त मेसिनबाट २५ हजार ८८ धागो काट्ने स्पीन्डल क्षमता छ ।

यसरी बन्द भएको थियो उद्योग
२०३९ सालमा नेपाल सरकार, खेतान समूह, साल्ट टेड्रिङ, वीरगञ्ज चिनी उद्योग, हिमाल सिमेन्ट, जनकपुर चुरोट, एनआईडिसी र पब्लिक सेयरबाट उद्योग स्थापना भयो। उद्योगमा नेपाल सरकारको ७८ प्रतिशत र बाँकीको २२ प्रतिशत शेयर थियो।

०४८ सालमा उद्योगले उत्पादन सुरु ग¥यो। नेपालगञ्जमा कपास खेती, बुटवलमा धागो र त्यही धागोले हेटौंडा कपडा कारखानाबाट कपडा उत्पादन गर्ने योजना अनुसार सरकारले उद्योग स्थापना गरेको थियो।

स्थापना कालमा उद्योगको अधिकृत पुँजी ६० करोड, जारी पुँजी ४५ करोड र चुक्ता पुँजी ३७ करोड थियो। त्यसमध्ये ३ करोड पब्लिक पुँजी थियो।

स्थापना भए पनि उद्योग राम्रोसँग चल्न सकेन। देशमा लोडसेडिङ थियो। २४ घण्टा चल्नुपर्ने उद्योग मुस्किलले ८ घण्टा चल्न थाल्यो। उद्योगको व्यवस्थापनमा राजनीतिक हस्तक्षेप बढ्यो। विभिन्न मागका नाममा सरकार र कर्मचारीबीच द्वन्द्व सुरू भयो।

उत्पादन कम हुने र लागत बढ्दै जाँदा उद्योगले क्रृणको भार बोक्यो। कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा कारखाना पुग्यो। कारखानाले आफ्नो लय गुमाएपछि २०६० सालमा साल्ट्र टेड्रिङलाई सरकारले लिजमा दियो। तर एक वर्षमै साल्ट्र टेड्रिङले उद्योग चलाउन नसक्ने भन्दै पछि हट्यो।

त्यसपछि कारखानाको व्यवस्थापन एलाईड ईन्भिष्मेन्ट (रिलाईन्स ग्रुप)ले लियो। उसले ०६४ फागुनसम्म चलायो। तर उद्योग क्रृणबाट माथि उठ्न सकेन। ०६६ असोज १ गते बाट सबै मजदुरहरूलाई अनिवार्य अवकास दिएर उद्योग बन्द भयो।

१९ माघ, २०८०, १३:३८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।