आफ्नै छवि धमिल्याउँदै दीपेन्द्र, विवादित मेयरको फिल्म निर्माणका लागि मरिहत्ते

आफ्नै छवि धमिल्याउँदै दीपेन्द्र, विवादित मेयरको फिल्म निर्माणका लागि मरिहत्ते

काठमाडौं : नेपाली फिल्मका राम्रा मेकरमध्ये एक हुन् दीपेन्दे के खनाल। तर, पैसाको पछि दौडिँदा उनले आफ्नो छविलाई धमिल्याउन खोजिरहेका छन्।

उनी यतिबेला सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बायोपिक फिल्म बनाउन लागि परेका छन्। जो भ्रष्टाचार लगायतका काण्डमा मुछिएका व्यक्ति हुन्।

विभिन्न आरोप खेपिरहेका मेयर थापाले आफ्नै नाममा सर्लाहीमा भरत ताल स्थापना गरेका छन्। त्यहाँका स्थानीय मेयर थापासँग दोहोरो कुरा गर्न समेत डर मान्छन्।

उनै व्यक्तिको बारेमा फिल्म बनाउने तयारीका साथ निर्देशक दीपेन्द्र के खनाल यति बेला सर्लाहीमा छन्। उनी मेयर थापालाई लिएर फिल्मी शैलीमा हिँडिरहेका छन्।

निर्देशक खनालका अनुसार उनी, आफूले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मेयर’को लोकेशन हेर्नका लागि त्यहाँ पुगेका हुन्। मेयर थापाको भुमिकामा अभिनेता खगेन्द्र लामिछाने देखिँदैछन्। त्यस कारण उनी पनि निर्देशक खनालसँगै सर्लाहीमै छन्।

विरोध र आलोचनाका बीच पनि निर्देशक खनालले मेयर थापाको बायोपिक बनाइ छाड्ने मुडमा पुगेका छन्। उनले फिल्मको सुटिङको डेट समेत फागुनको १५ गतेबाट राखेका छन्। फिल्ममा सबै कुरा मिलाइरहेका उनले अभिनेत्रीको नाम भने फाइनल गरेका छैनन्।

फिल्म ‘आमा’, ‘पशुपति प्रसाद,’ ‘भस्मेडन’जस्ता राम्रा फिल्म निर्देशन गरिसकेका निर्देशक खनालले यसअघि उकेरासँगको कुराकानीमा मेयरका राम्रा र नराम्रा दुवै पक्षलाई पर्दामा उतार्ने बताएका थिए। उनको फिल्म बनाउनुपर्ने कारण भने खुलाएका थिएनन्।

मेयर थापाले आफूलाई राम्रो देखाउन निर्देशक खनाललाई प्रयोग गरिरहेका छन्, खनाल पनि त्यसैगरी प्रयोग भइरहेका छन्। फिल्ममा निर्देशक खनालले केही नयाँ अनुहारलाई स्थान दिँदैछन्।

फिल्ममा पुराना अभिनेत्री नसुहाउने भएकाले नयाँलाई स्थान दिन लागेको खनालले यसअघि नै बताइसकेका छन्। फिल्ममा मेयर थापाकै छोरी अरविसा थापा र सागर मैनालीले लगानी गर्दैछन्।

माघ १९, २०८० शुक्रबार ११:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।