अरुण चौधरी लगायतलाई ४ दिन थुनामा राख्न अनुमति

अरुण चौधरी लगायतलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ : बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका चौधरी समूहका अरुण चौधरीसहित तीन जनालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी सहित अजितनारायण थापा र सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरेको थियो।

उनीहरूलाई बिहीबारै न्यायिक हिरासतमा राख्ने अनुमतीका लागि काठमाडौँ जिल्ला अदालतमा आरोपसहित पेस गरेकोमा पहिलो पटक ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिनाको आरोप लागेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

पक्राउ गरेको २४ घण्टाभित्र अदालतमा पेस गरे हुने कानुनी प्रावधान रहे पनि चौधरीलाई छाड्न दबाब बढेसँगै प्रहरीले बिहीबारै पेस गरेर अनुमति मागेको हो। अरुणको दाइ विनोद चौधरी सत्ताधारी दल नेपाली कांग्रेसका सांसद छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पहिलो पटकका लागि ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सङ्गठित अपराधको आरोप नलगाए प्रहरीले २३ दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति पाउन सक्छ।

सिआइबी स्रोतका अनुसार तत्काल मुख्य आरोपी देखिएका तीन जनालाई पक्रिएर अनुसन्धानको थालनी गरे पनि पक्राउ सूचिमा अन्य व्यक्ति समेत छन्।

चौधरी बाँसबारीको १० रोपनी जग्गा रहेको चाँदबाग डेभलपर्स प्रालीका सञ्चालक हुन्। उनको श्रीमती पनि सो कम्पनीको सञ्चालक हुन्। थापा बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख हुन्। सञ्जय ठाकुर जग्गा हडप्ने सहयोगी हुन्।

माघ १८, २०८० बिहीबार १८:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।