कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीका लागि अन्तिम मनोनयन पेस

कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीका लागि अन्तिम मनोनयन पेस

बुटवल : प्राचीन शाक्य गणराज्यको राजधानी शहर कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्वसम्पदा केन्द्रमा पेस भएको छ।

फ्रान्सका लागि नेपाली राजदूत एंव युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारिक रुपमा मनोनयन दस्तावेज पेस गरेका हुन्।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्वसम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु खुसीको कुरा भएको बताए।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ।

तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरू भएकाले सबैको सकारात्मक साथ, सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले विज्ञप्तिमार्फत् भनेका छन्।

युनेस्को जापानीज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायबाट चाहिने आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चतता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो। समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ।

सरकारले २०७८/०७९ को नीति तथा कार्यक्रममार्फत् तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। विश्वसम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो।

अन्तिम मनोनयन दस्तावेज विश्वसम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेस भएसँगै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा केन्द्रमा दर्ताका लागि विधिवत् रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

युनेस्कोको सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

१८ माघ, २०८०, १६:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।