१० रोपनी सरकारी जग्गा अपचलनको आरोपमा अरुण चौधरी पक्राउ

१० रोपनी सरकारी जग्गा अपचलनको आरोपमा अरुण चौधरी पक्राउ

काठमाडौँ : सरकारी जग्गा हडपेको आरोपमा चौधरी समूहका सदस्य अरुण चौधरी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार चौधरीलाई पक्राउ गरेको हो।

बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ब्युरोले चौधरीलाई पक्राउ गरेको हो। ब्युरोले चौधरीसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंहलाई समेत पक्राउ गरेको छ।

बाँसबारी छाला जुत्ता कारखानामा रहेको सरकारी जग्गा अपचलन गर्दै उनीहरूले १० रोपनी जग्गा अरुण र उनको श्रीमती शिला चौधरीको नाममा राखेको खुलेपछि ब्यूरोले अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेको हो।

चौधरी समूहले बाँसबारीमा रहेको सरकारी जग्गा हडपेर त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ। चौधरी सिजी समूहका सदस्य तथा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत हुन्।

बाँसबारीको सरकारी जग्गा चौधरी समूहले हडपेकोबारे उकालोले विस्तृत समाचार प्रकाशित गरेको थियो। उकालोका अनुसार बाँसबारी छाला तथा जुत्ता कारखाना घाटामा रहेको भन्दै ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा चौधरी समूहको ‘च्याम्पियन फुटवेयर लिमिटेड’ नामको कम्पनीलाई विक्री गरेर पैसाको सट्टा च्याम्पियनको शेयर लिइएको थियो।

विनोद कुमार चौधरी, अरूण कुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी च्याम्पियनको शेयरहोल्डर्स थिए। पछि च्याम्पियनको नाम बदलेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ राखियो। बाँसबारीको शेयर एकाएक गायब भयो।

चौधरी समूहले जुत्ता कारखाना बन्द गरेर जग्गा अबैध रुपमा ब्यक्तीगत बनाएको आरोप लाग्दै आएको थियो। सिआइबीले गोप्य अनुसन्धानबाट प्रमाण संकलन गरेर बिहीबार पक्राउ गर्यो। तत्काल अनुसन्धानमा अरुण र उनको श्रीमतीसँगै बाँसबारी कारखानाका तत्कालिन जिम्मेवार अधिकारीहरु रहेको देखिन्छ। 

माघ १८, २०८० बिहीबार १५:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।