गण्डकीमाथि ६८ रनको जितसँगै आर्मीले प्रधानमन्त्री कपको फाइनल खेल्ने पक्का
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ६८ रनको जित हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो।
उसका लागि इमरान शेखले ३४, सोमपाल कामीले २३, विनोद भण्डारीले १९, कुशल मल्लले १५, साहब आलमले अविजित १२ रन जोडे।
गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान दुई-दुई विकेट लिए।
१३३ रनको लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा सबै विकेट गुमाएर मात्र ६४ रनमा समेटियो। उसका लागि ईश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आर्मीका साहब आलम एक्लैले चार विकेट लिँदा कुशल मल्ल र जितेन्द्र मुखियाले समान दुई-दुई विकेट लिए।
जितसँगै आर्मी नौ खेलमा १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने पक्का भएको छ। उसले शनिबार हुने फाइनलमा त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।
माघ १८, २०८० बिहीबार १४:२१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।