छ सय जनालाई ठगेको आरोपमा विकास वाइवा पक्राउ, ठगीकै रकमले चार करोड ॠण चुक्ता अनि शेयरमा लगानी

छ सय जनालाई ठगेको आरोपमा विकास वाइवा पक्राउ,  ठगीकै रकमले चार करोड ॠण चुक्ता अनि शेयरमा लगानी

काठमाडौं : ६०० भन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

ललितपुरका विकास वाइवा भनिने सुजन तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका तामाङलाई आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको गरेको हो।

काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक समेत रहेका तामाङले वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोप छ।

नक्कली भिसा देखाएर ठगी गरेको उनी विरुद्ध उजुरी दिइएको छ। माल्टा, क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगल लगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति ५० हजारदेखि ५ लाख रूपैयाँसम्म असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

वैदेशिक रोजगार विभागका अनुसार उनी विरुद्ध ७० जना बढीको मुद्दा दर्ता भइसकेको छ। विकास वाइवाको नाममा बैंकमा खाता खोली सर्वसाधारणदेखि सेनाका अधिकृतसम्मलाई ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

ठगी गरेको रकमबाट उनले ४ करोडको व्यक्तिगत ॠण तिरेको, बसुन्धारास्थित  राप्ती मेनपावरमा ५० लाखको शेयर लगानी गरेको, भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाको ॠण तिरेको र एउटा गाडी खरिद गरेको प्रहरीले जनाएको छ।

प्रहरीको उनको साथबाट वास्तविक नागरिकता र विकास वाइवा नामको नागरिकता, २ लाख २९ हजार नगद, विभिन्न भौचरहरू बरामद गरेको छ।

अहिले उनीबाट पीडित बनेकाहरू प्रहरी कार्यालयमा पुगेका छन्। सयौँको संख्यामा पीडित उपत्यका अपराध अनुसन्धान कार्यालय अगाडि भेला भएका छन्।

तामाङलाई आफूहरूले नै कारबाही गर्ने भन्दै उनीहरूले प्रहरीलाई दबाब दिइरहेका छन्।

 

https://fb.watch/pX7dRQrttv/

माघ १८, २०८० बिहीबार १४:०७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।