प्रधानमन्त्री कपमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दा मुलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
दुवै खेल विहान सवा ९ बजेदेखि सुरु हुनेछन्।
आजको खेलपछि सात प्रादेशिक र तीन विभागीय गरी सबै टोलीले नौ–नौ खेल खेल्नेछन्। तालिकाको शीर्ष दुई टिमले शनिबार त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल्नेछन्।
बुधबार भएका दुई खेलमा कर्णालीले एपीएफलाई २१ रनले पराजित गर्दा कर्णालीले लुम्बिनीलाई १०३ रनले पराजित गरेको थियो।
अंकतालिका हेर्ने हो भने नेपाल पुलिस क्लब आठ खेल सबैमा जित निकालेर १६ अंकसहित शीर्ष स्थानमा छ। त्रिभुवन आर्मी क्लब समान आठ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा हुँदा बागमती तेस्रो र मधेश चौथो स्थानमा छ।
एपीएफ, सुदूरपश्चिम, कर्णाली र गण्डकी क्रमशः पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा हुँदा नवौं स्थानमा लुम्बिनी र दशौं स्थानमा कोशी छ।
माघ १८, २०८० बिहीबार ०८:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।