अबको प्रधानमन्त्री माधव नेपाल, त्यसपछि शेरबहादुर देउवाको पालो : बिमलेन्द्र निधि

अबको प्रधानमन्त्री माधव नेपाल, त्यसपछि शेरबहादुर देउवाको पालो : बिमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अबको प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बन्ने बताएका छन्।

उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष नेपालले एक वर्ष नेतृत्व गर्ने बताए।

आज नेपाल प्रेस युनियन दाङ शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दाबी गरे।

गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए।

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए।

‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो’, नेता निधिले भने,‘ सत्ता साझेदार बीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ। त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो।’

माघ १७, २०८० बुधबार २०:१६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।