हेटौँडा कपडा उद्योग चलाउन सेनाको प्रस्ताव : १ अर्ब ९३ करोड लागत, दुई वर्षपछि उत्पादन सुरु, नौ वर्षपछि नाफामा

हेटौँडा कपडा उद्योग चलाउन सेनाको प्रस्ताव : १ अर्ब ९३ करोड लागत, दुई वर्षपछि उत्पादन सुरु, नौ वर्षपछि नाफामा

काठमाडौँ : रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सेनामार्फत पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ सक्रिय भएका छन्।

नेपाल र चीन सरकारको संयुक्त लगानीमा स्थापना भएको र २०३५ सालबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो उद्योग २०५७ माघ १८ मा मन्त्रिपरिषद् निर्णयमार्फत कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिई बन्दको घोषणा गरेको थियो।

सरकारले २०५८ मा निजीकरणको प्रयास गरे पनि सफल नभएको उद्योग सञ्चालनमा ल्याउन बुधबार प्रधानमन्त्री प्रचण्ड आफैंले उच्चस्तरीय छलफलको आयोजना गरेर कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले गरेको सम्भाव्यता अध्ययनको ब्रिफिङ सुनेका थिए।

आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने उल्लेख छ। सोही अनुसार सेनाले उद्योग पुनः सञ्चालन गर्नेबारे सम्भाव्यता अध्ययन गरेको थियो।

उद्योग मन्त्रालयले उपलब्ध गराएको आधा दर्जनबढी प्रतिवेदनमा हेटौंडा कपडा उद्योग लिक्विडेसन (खारेजी) मा गएपछि भएका अध्ययनमा पुनः सञ्चालनको सम्भावना रहेको औँल्याइएको छ। सामान्य मर्मत-सम्भारदेखि २२ करोडसम्मको लागतमा नै उद्योग सञ्चलनमा ल्याउन सकिने ती प्रतिवेदनहरूमा उल्लेख थियो।

पटक-पटक खारेजीको निर्णयमा परेको उद्योग सेनामार्फत पुन सञ्चालन ल्याउन सरकारले पटक-पटक प्रयास गरिरहेको छ। बुधबार सेनाको तर्फबाट सार्वजनिक गरिएको सम्भाव्य अध्ययनमा बजार व्यवस्थापन नहुनु, प्रविधिको समयसापेक्ष आधुनिकीकरणको अभाव, लोडसेडिङ, आवश्यकताभन्दा धेरै जनशक्ति र व्यवस्थापकीय क्षमताको कमिकाकारण उद्योग बन्द भएको उल्लेख छ।

अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १ सय ६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम् पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको उल्लेख छ।

सरकारले सेना, सुरक्षाकर्मी र निजामतीको पोसाकका लागि हरेक वर्ष १३ अर्ब भन्दा बढी रकम खर्च गर्दै आएको छ। सेनाको प्रतिवेदनमा सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ। लागत १ अर्ब ९३ करोड अनुमान गरेको छ।

अध्ययन कार्यदलले उद्योग तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०।०८१ मा नीतिगत निर्णय गरी सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने प्रस्ताव गरेको छ।

आर्थिक वर्ष २०८१।०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरु गर्ने, आ.व. २०८२।०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरु गर्ने सेनाको प्रस्तावमा उल्लेख छ।

प्रतिवेदनमा उद्योग पुनः सञ्चालनमा ल्याउन १ अर्ब ९३ करोड लागत लाग्ने उल्लेख छ। वार्षिक सञ्चालन खर्च ७८ करोड लाग्ने उल्लेख भएको प्रतिवेदनमा उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने दाबी गरिएको छ।

सेनाले उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरफारक गरी उद्योगको स्वामित्व सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरि नीतिगत व्यवस्था हुनुपर्ने प्रस्ताव समेत गरेको छ।

ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले सेनाले अध्ययन राम्रो रहेको भन्दै यसबारे राजनीतिक तहमा एकचरण छलफल गरेर अध्ययनका निम्ति सरकारको तर्फबाट सानो टिम बनाएर जान सकिने र त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिने बताएका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

सम्बन्धित समाचार

माघ १७, २०८० बुधबार १५:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।