टिकटक बन्द गराएका प्रधानमन्त्रीको तर्क' नयाँ नीतिगत व्यवस्था नियन्त्रणका लागि हैन, नियमन र व्यवस्थापनका लागि'

टिकटक बन्द गराएका प्रधानमन्त्रीको तर्क' नयाँ नीतिगत व्यवस्था नियन्त्रणका लागि हैन, नियमन र व्यवस्थापनका लागि'

काठमाडौँ : विना आधार सामाजिक सञ्जाल टिकटक बन्द गराएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने दाबी गरे।

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नियन्त्रण र निर्देशनमा नभई निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने दाबी गरेका थिए। जबकि सामाजिक सद्भाव खलल पूर्याएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा प्रतिबन्ध लगाएको छ।

दीर्घकालमा न्यु–मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई थप प्रभावकारी बनाइने बताउँदै उनले ‘पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभई, नियमन र व्यवस्थापनका लागि भएको दाबी गरेका थिए।

डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँच भएका दर्शकका रुचिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले ‘टेलिभिजन प्रविधि र प्रतिभाको संयोजन भएको बताउँदै प्रविधिमा आएको परिवर्तनले टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर बस्ने जमाना गएको र दर्शकको रुचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्नुपर्ने बताएका थिए।

उनले टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउनेगरी संसद्मा पठाएको विधेयकमा समयानुकूल परिमार्जनसहित पारित गर्ने तयारी गरिएको बताएका थिए।

सरकारले नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जबाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्ने भनेर आग्रह गर्दै आएको उनले बताए।

सामाजिक सञ्जालहरू विस्तारित हुँदै गर्दा मूलधारका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको जिम्मेवारी बढ्दै गएको बताउँदै उनले ‘गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने र राज्य कमजोर बन्दै जाने जोखिम रहेको तर्क गरेका थिए।

माघ १७, २०८० बुधबार १४:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।