जब कप्तान देव खनाललाई टिममा गरिएको दुई परिवर्तन नै बिर्सिए...

जब कप्तान देव खनाललाई टिममा गरिएको दुई परिवर्तन नै बिर्सिए...

काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु-१९ आईसीसी विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा कप्तान देव खनालले टिममा भएको परिवर्तन नै बिर्सिएका छन्।

टस जितेर ब्याटिङ रोजेका खनाललाई त्यसपछि प्रस्तोताले कतिवटा परिवर्तन छ टिममा भनेर सोधे। जवाफमा उनले दुई परिवर्तन भएको बताए।

त्यसपछि भने कप्तान खनाल अक्क न बक्क परे। यद्यपि उनलाई प्रस्तोताले बिर्सिए पनि चिन्ता नगर्न, आफूसँग त्यो लिस्ट आइसकेको बताए।

नेपाली टोलीमा आज दुई परिवर्तन भएको छ। स्पिनर तिलक भण्डारीको स्थानमा फास्ट बलर दुर्गेश गुप्ताले टिममा स्थान बनाउँदा दीपक डुम्रेको स्थानमा अलराउन्डर विशाल विक्रम केसी आएका छन्।

नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।  नेपाल सुपर सिक्समा स्थान बनाउने एक मात्र एशोसियट टोली हो।

विश्वकपमा यी दुईबीच सन् २००२ मा न्युजिल्याण्डमा पहिलो प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो।

दोस्रो पटक सन् २०१६ मा बंगलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो।

त्यस्तै यू–१९ एसिया कपमा २ पटक भेट हुँदा दुवै खेलमा बंगलादेश विजयी भएको थियो।

सन् २०१९ मा बंगालादेशले नेपाललाई ६ विकेटले हराएको थियो भने २०२१ मा १५४ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो।

समूह चरणका खेलमा बंगलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग भने ८४ रनले पराजित भएको थियो।

माघ १७, २०८० बुधबार १३:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।