यु-१९ आईसीसी विश्वकप : बंगलादेशविरुद्ध नेपालले टस जित्यो
काठमाडौं : दक्षिण अफ्रिकामा जारी यु-१९ आईसीसी विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले टस जितेको छ।
कप्तान देव खनालले देव खनालले बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।
विश्वकपमा यी दुईबीच सन् २००२ मा न्युजिल्याण्डमा पहिलो प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो।
दोस्रो पटक सन् २०१६ मा बंगलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो।
त्यस्तै यू–१९ एसिया कपमा २ पटक भेट हुँदा दुवै खेलमा बंगलादेश विजयी भएको थियो।
सन् २०१९ मा बंगालादेशले नेपाललाई ६ विकेटले हराएको थियो भने २०२१ मा १५४ रनको फराकिलो अन्तरले हराएको थियो।
नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो।
पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो।
समूह चरणका खेलमा बंगलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग भने ८४ रनले पराजित भएको थियो।
माघ १७, २०८० बुधबार १३:२१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।