प्रधानमन्त्री कप : फेरिए नेपाल पुलिस क्लबका कप्तान, आरिफले लिए दीपेन्द्रको स्थान
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लबका नियमित कप्तान फेरिएको छ।
दीपेन्द्र सिंह ऐरीको स्थानमा टिमले आज आरिफ शेखलाई कप्तानको जिम्मेवारी दिएको छ। नयाँ खेलाडीलाई मौका दिन ऐरी टोलीबाहिर बसेको कप्तान शेखले टसका क्रममा जानकारी दिए।
आज ऐरीको स्थानमा रोशन बुढाल टिममा भित्रिएका छन्। उनले प्रधानमनत्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो खेल खेल्दैछन्।
खराब मौसमका कारण मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेललाई ५० बाट ३८ ओभरमा छोट्याइएको छ। पुलिसका कप्तान शेखले टस जितेर पहिला ब्याटिङ रोजेसँगै लुम्बिनी प्रदेशले पहिला बलिङ गर्दैछ।
प्रतियोगितामा पुलिसले खेलेका सात खेलमै जित निकालेर १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी भने आठ खेलमा दुई अंकसहित नवौं स्थानमा छ।
माघ १७, २०८० बुधबार ११:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।