गैर-हिन्दुलाई मन्दिर प्रवेशमा रोक लगाउँदै भारतको अदालतले भन्यो- ‘मन्दिर पिकनिक स्पट हैन’

गैर-हिन्दुलाई मन्दिर प्रवेशमा रोक लगाउँदै भारतको अदालतले भन्यो- ‘मन्दिर पिकनिक स्पट हैन’

एजेन्सी : भारतको मद्रासस्थित उच्च अदालतले मन्दिर कुनै पर्यटकीय वा पिकनिक स्थल नभएकाले गैरहिन्दुलाई प्रवेश निषेधको प्रवन्ध मिलाउन आदेश दिएको छ।

न्यायाधीश एस श्रीम्थीको एकल इजलासले तमिलनाडु सरकारलाई सबै हिन्दू मन्दिरहरूमा बोर्डहरू राख्न आदेश दिएको हो।

इजलासले गैर–हिन्दूहरूलाई कोडिमारम(झण्डा राखिएको स्थान) भन्दा भित्र नजाने व्यवस्था मिलाउनसमेत भनेको छ।

अदालतले हिन्दूहरूलाई आफ्नो धर्म मान्ने र पालना गर्ने मौलिक अधिकार रहेको पनि बताएको छ।

डी सेन्थिलकुमारको दायर गरेको मुद्दामा अरुल्मिगु पलानी धनादयुथापानी स्वामी मन्दिरमा हिन्दूहरूलाई मात्र प्रवेश गर्न दिनुपर्ने माग गरिएको छ। साथै, यसको प्रवेशद्वारमा बोर्ड पनि राख्नुपर्छ।

इजलासले आफ्नो आदेशमा भनेको छ, ‘तमिलनाडु सरकारको हिन्दू धार्मिक र परोपकारी अनुदान विभागले गैर–हिन्दूहरू मन्दिरको एक स्थानभन्दा बढी प्रवेश नगर्ने व्यवस्था सुनिश्चित गर्नू। यदि कोही गैर–हिन्दू मन्दिर प्रवेश गर्न चाहेको खण्डमा उसलाई हिन्दु धर्मका रितिरिवाजहरू पालाना गर्ने वाचा गराएर मात्र प्रवेश गराउनू। यो वाचाविना कुनै पनि गैर–हिन्दूलाई मन्दिर प्रवेश गर्न अनुमति हुनेछैन।’

अदालतले हिन्दूहरूलाई आफ्नो धर्म पालन गर्ने अधिकार रहेको बताएको छ।

‘त्यस्तै गरी अन्य धर्मका मानिसलाई पनि आफ्नो धर्म मान्न र पालन गर्ने अधिकार छ, धर्मका प्रचलन र अभ्यासमा हस्तक्षेप गर्न मिल्दैन,’ इजलासले भनेको छ, ‘मन्दिर कुनै पिकनिक स्थल वा पर्यटकीय स्थल होइन। अन्य धर्मका मानिसहरूले मन्दिरको वास्तुकला हेर्न र बुझ्न सक्नेछन् तर कोडिमारामभन्दा भित्र प्रवेश गर्नु जरुरी छैन।’

माघ १७, २०८० बुधबार १०:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।